कङ्गोमा नेपाली सेना र विद्रोहीबीच झडप, ५ विद्रोहीको मृत्यु, दुई नेपाली सेना घाइते

काठमाडौं । अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यको लागि संयुक्त राष्ट्रसंघ अन्तर्गत कङ्गोमा रहेका नेपाली सेनाको शमशेरदल गणको सैनिक गस्तीमाथि आक्रमण भएको छ ।

स्थानीय विद्रोही समूह माई माईद्वारा भएको आक्रमणको प्रतिकार गर्दा नेपाली सेनाको २ जवान घाइते भएको सेनाले नजाएको छ ।

बिद्रोहीतर्फ नेपाली शान्ति सैनिकले प्रहार गरेको गोली लागि ५ जना बिद्रोहीको मृत्यु भएको छ । उक्त घटनामा बिद्रोहीबाट बरामद भएका एके–४७ राईफल २ र सो को एम्युनिशन ५० राउण्ड कंगोको राष्ट्रिय सेना फेड्रिकलाई बुझाइएको छ ।

गण हेड क्वाटरबाट करिब २२ किलोमिटर टाढा कवास भन्ने ठाउँमा भएको उक्त झडपमा घाइते भएका नेपाली सेनाहरुको कंगोको गोमास्थित संयुक्त राष्ट्र संघको लेवल ३ अस्पतालमा उपचार भइरहेको सैनिक मुख्यालयले जनाएको छ ।

सेनाका अनुसार घाइतेको स्वास्थ्य स्थिति सामान्य रहेको छ । साथै, हाल उक्त स्थानको स्थिति नियन्त्रणमा रहेको सेनाले जनाएको छ । कंगोमा नेपाली सेना सन् २००३ देखिनै शान्ति मिसनमा खटिदै आएको छ । नेपाली सेनाले संयुक्त राष्ट्र संघको शान्तिसेनामा जान थालेको सन् १९५८ देखिनै हो । अहिलेसम्म सेनाका एक लाख भन्दा बढी अधिकृत तथा जवानले संसार भरी शान्ति कायम गर्ने काम गर्दै आउका छन् । चार हजारभन्दा बढी नेपाली सेना अहिले पनि १६ देशका शान्ति सेनाको मिसनमा कार्यतर छन् ।

पूर्वी कंगोमा भएको आन्तरिक लडाईं सन् १९९४ देखि शुरु भएको हो । यो लडाईको मारमा सर्वसाधारण जनता निकै पिल्सिएका छन् । यो अफ्रिकी देशको गृहयुद्धमा अहिलेसम्म ५४ लाख मान्छे मारिइसकेका छन्, त्यसमा सबैभन्दा धेरै पूर्वी कंगोमा मृत्यु भएको देखिन्छ । यो देशको गृहयुद्धमा महिला र बच्चीहरू अत्यधिक मात्रामा बलात्कारको सिकार भएको विभिन्न अन्तर्राष्ट्रिय संस्थाले जनाएका छन् । एक अनुमान अनुसार बलात्कार हुनेको संख्यामात्र १० लाख पुगेको छन् । कंगोका ३० लाख भन्दा बढी जनता द्वन्द्वको मारबाट विस्थापित हुन पुगेका छन् । यो द्वन्द्वमा साधारण जनताको तुलनामा साँच्चैका सेनाभने केवल १० प्रतिशत मात्र मारिएको पनि समाचार संस्थाले जनाएका छन् ।

Sharing is caring!

Tags:

Add a Comment

Your email address will not be published. Required fields are marked *