जिदानले रियल छाड्दा गार्डिओला आश्चर्यचकित परे

२३ जेठ, काठमाडौं । लगातार तेस्रोपटक च्याम्पियन्स लिग जिताएपछि रियल मडि्रडबाट जिनेदिन जिदान बाहिरिएकोमा अचम्म लागेको म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले बताएका छन् ।

यो सिजन सिटीलाई पि्रमियर लिगको उपाधी दिलाएका गार्डिओलाले जिदानको बारेमा पहिलोपटक प्रतिक्रिया दिएका हुन् ।

उनले रियलबाट जिदानको बहिर्गमन र उनको बार्सिलोनाबाट बर्हिगमनमा समानता नभएको पनि बताएका छन् ।

‘हामीले लगातार तीन च्याम्पियन्स लिग जितेका थिएनौं त्यसैले म कारणहरुको बारेमा केही भन्न सक्दिन’ गार्डिओलाले भने, ‘उनीहरुले जे गरेका छन् त्यो प्रशंसनीय छ । प्रशिक्षकहरुले धेरैजसो खराब नतिजा पछि क्लब छोड्ने गर्छन् त्यसैले उनले जे गरे त्यो धेरै अस्वाभाविक छ ।’

उनले अरु कुरामा खासै समानता नभए पनि दुवैको कपाल नभएको भन्दै ठट्टा पनि गरे, ‘हामी बीचमा एउटा समानता भने छ, दुभाग्र्यवश हामी दुवैको कपाल छैन ।’

‘म उनलाई धेरै सम्मान गर्छु, उनलाई खेलाडीको रुपमा पनि सबैले मन पराउँथे ।’

उनले जिदान बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस इनरिकेले जस्तै गरी बाहिरिएको पनि बताए । इनरिकेले पनि बार्सिलोनालाई उपाधी दिलाएपछि बाहिरिएका थिए ।

यस्तै याया टौरेले अफ्रिकन खेलाडीहरुलाई रंगभेद गरेको भनेर उनीमाथि लगाएको आरोपको विषयमा भने गार्डिओला बोल्न चाहेनन् । ‘म टौरेको बारेमा केही पनि प्रतिक्रिया दिन चाहन्न । मलाई केही पनि भन्नु छैन ।’

त्यस्तै बार्सिलोनाका पूर्वप्रशिक्षक गार्डिओलाले एतिहाद रंगशालामा लेरोय सानेको लोभलाग्दो प्रदर्शनको प्रशंसा गर्दै उनलाई जर्मनीको टीममा देख्न नपाउँदा दुःख लागेको बताए । तर, उनले जर्मनीका प्रशिक्षक जोचिम लो माथि कुनै प्रतिक्रिया दिन मानेनन् ।

उनले भने, ‘म जर्मन प्रशिक्षकलाई सम्मान गर्छु र सायद उनले आफूले जे देखे र जे ठीक लाग्यो त्यसैमा आधारित भएर निर्णय गरे ।’

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *