डिप्रेसनका १२ लक्षण र रोकथामका ८ उपाय

मन उदास हुनु, डर लागिरहनु, आत्मग्लानीले घेरिनु, एकोहोरो हुनु जस्ता लक्षण डिप्रेसनका संकेत हुन् । हाम्रो समाजले डिप्रेसनलाई रोग मानी त्यसबाट बच्न उपचार विधि अपनाउनुपर्छ भन्ने कुरालाई अझै सहज रुपमा स्वीकार गरिसकेको छैन । मानिस हरबखत उदास हुनु मानसिक रोग हुन सक्छ । डिप्रेसन भनेको उदासीको अवस्था नै हो। मन भारी हुने, कुनै उमङ्ग नरहने, हीनताबोधले गाँज्ने जस्ता उदासीका संकेत दुई हप्ताभन्दा बढी समयसम्म कायम रहे त्यो डिप्रेसनको अवस्था हुन सक्छ । डिप्रेसन जुनसुकै उमेर वा लिङ्गका मानिसलाई हुन सक्छ । १० जनामध्ये एक जनालाई डिप्रेसन हुने गरेको विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानहरुले देखाएका छन्। तसर्थ डिप्रेसनको समस्या विश्वव्यापी रुपमा चासो र चिन्ताको विषय बन्दै गएको छ । डिप्रेसनको उपचार हुन्छ। तर, यो अवस्थालाई बेलैमा पहिचान गरेर उपचारतर्फ लाग्नुपर्छ । डिप्रेसनका लक्षण, उपचार र रोकथामका उपाय निम्नानुसार छन् ।

लक्षणहरु

१. थोरै वा धेरै सुत्ने,

२. अरुले देख्दा  हरबखत बेचैन वा सुस्त देखिने,

३. निर्णय लिन वा एकाग्र हुन नसक्ने,

४. दिनभरि नै उदास रहने,

६. आफूप्रति ग्लानि महसुस हुने र आफू बिनाकामको भएको महसुस भइरहने,

७. हरबखत थकान महसुस हुने,

८. भोक नलाग्ने, खानाको रुचीमा परिवर्तन हुने,

९. वजन घट्ने,

१०. बारम्बार मृत्युको बारेमा सोच्ने,

११. आफूलाई मन पर्ने कामहरुमा पनि मन लाग्न छोड्ने,

१२. खुसी हुन नसक्नु र कुनै कुराले मनमा उमंग नजाग्नु ।

हाम्रो मस्तिष्कमा ‘न्युरोट्रान्समिटर’ भनिने केही रसायन हुन्छ, जसले मानसिक अवस्थालाई सन्तुलनमा राख्ने काम गर्छ । यदि, मस्तिष्कमा यस्ता रसायन पर्याप्त मात्रामा नभए डिप्रेसन हुन्छ । कुनै समयमा परिवारका कसैलाई यस्तो रोग लागेको भए र बाल्यअवस्थामा गहिरो मानसिक चोट परेको भए डिप्रेसन हुने सम्भावना रहन्छ । यस्तै, बृद्ध अवस्था, दीर्घकालीन रोग र मानसिक तनाबका कारण मानिस डिप्रेसनमा जान्छ । कुनै पनि व्यक्तिमा दुई हप्ता वा लामो अवधिसम्म माथि उल्लेख गरिएका लक्षणहरु देखा परेमा डिप्रेसन भएको अनुमान गर्न सकिन्छ । समयमा उपचार गरिएन भने यी लक्षणहरु हप्ता, महिना वा वर्षौंसम्म रहन सक्छन् र स्वास्थ्यमा गम्भीर असर देखा पर्न सक्छ ।

उपचार

डिप्रेसनको समस्या भएका अधिकांस मानिस र परिवारका सदस्य यसलाई लुकाउने कोसिस गर्छन् । अधिकांसलाई डिप्रेसनको उपचार हुन्छ भन्ने थाहा पनि हुँदैन । थाहा भएकाहरु डिप्रेसनलाई रोगभन्दा पनि सामान्य समस्याका रुपमा लिन्छन् । फेरि डिप्रेसन भयो भन्ने कुरालाई ‘पागलपन’सँग जोडेर हेर्ने गरिन्छ । जसले गर्दा सकेसम्म यो समस्या परिवारभन्दा बाहिर नजाओस् भन्ने चाहन्छन् मानिसहरु । ठूलो समस्या भनेकै यही सोच हो । यदि डिप्रेसन पनि रोग हो र उपचारबाट निको हुन्छ भन्ने चेतना फैलिन सके धेरैले यसबाट मुक्ति पाउन सक्छन् । डिप्रेसनको उपचार अन्य रोगको उपचार जस्तो सहज हुँदैन । डिप्रेसनको उपचार दुई तरिकाबाट गरिन्छ । एउटा विशेषज्ञ परामर्शबाट र अर्को औषधिको प्रयोगबाट ।

१. औषधि–उपचार

डिप्रेसनका रोगीलाई औषधिले चट्टै निको पार्छ भन्ने हुँदैन । कुन कारणबाट बिरामी डिप्रेसनमा गएको हो त्यो कुरामा सुधार आउन सकेन भने औषधिको प्रयोग गरेपछि पनि बिरामी पुनः डिप्रेसनमा जान सक्छ । डिप्रेसनका बिरामीलाई दिइने ‘एन्टिडिप्रेसेन्ट’ले बिरामीको सोचाइमा असर पार्ने मस्तिष्कको रसायनहरुको क्रियाकलापमा वृद्धि गराउँछ । प्रायःजस्तो यस्ता औषधि ६ महिनासम्म लिनुपर्ने हुन्छ । तर, बिरामीको अवस्था र रोगको जटिलता वा उमेरका आधारमा यस्ता औषधि लामो समयसम्म सेवन गर्नुपर्ने पनि हुन सक्छ ।

२. परामर्श / थेरापी

बिरामी के कारणले डिप्रेसनमा गएको हो भन्ने कारण पत्ता लगाउनु नै आधा रोग निको गराउन सक्नु हो । विशेषज्ञ परामर्शदाता तथा मनोचिकित्सकहरुले डिप्रेसनको कारण पत्ता लगाउन र बिरामीलाई त्यसबाट बाहिर निकाल्न ठूलो भूमिका खेल्छन् । अरु रोगजस्तो वैज्ञानिक ल्याब परीक्षणबाट डिप्रेसनको कारण पत्ता लाग्ने भन्ने हुँदैन । यो समस्या मानसिक अवस्थासँग जोडिएको हुनाले उचित परामर्श नै रोग निको पार्ने पहिलो आधार हो । औषधिको प्रयोग नगरी डिप्रेसन हटाउने मुख्य विधि यस्ता छन् ।

कग्निटिभ विहेभियर थेरापी (सिबिटी)

विभिन्न प्रश्नावली तथा अभ्यासहरुको माध्यमबाट रोगीले सोच्ने शैलीको व्यक्तिगत मूल्यांकन गर्ने प्रक्रियालाई कग्निटिभ विहेभियर थेरापी भनिन्छ । यसले परिस्थितिलाई भिन्न ढंगले हेर्ने तथा त्यसलाई समाधान गर्ने सीप सिकाउँछ ।

इन्टरपर्सनल थेरापी

बिरामीका आपसी सम्बन्ध र मनभित्रका कुरामा केन्द्रित भएर समस्या पत्ता लगाउने विधिलाई इन्टरपर्सनल थेरापी भनिन्छ । कतिपय गोप्य र मनभित्र गडेको कुरा वा गहिरो चोटहरुबारे बिरामीलाई कुराकानी गर्न गाह्रो भइरहेको हुन सक्छ । त्यस्ता समस्याले मानिसलाई उदास बनाएको हुन्छ । मनभित्र गडेर बसेका र बाहिर भन्न नखोजिएका कुरालाई खोतल्ने र त्यसबाट राहत दिलाउने कोसिस परामर्शदाता ÷ मनोचिकित्सकले गर्छन् ।

इलेक्ट्रो कन्भल्सिङ थेरापी (इसिटी) विद्युतीय झट्काको प्रयोग

डिप्रेसनको बिरामी औषधि र परामर्शले समेत नछुने अवस्थामा पुगिसकेको छ भने विद्युतीय झड्का अर्थात् इलेक्ट्रो कन्भल्सिङ थेरापी (इसिटी) को प्रयोग गरिन्छ । इसिटीलाई अन्तिम उपायका रुपमा लिइन्छ। बिरामी गम्भीर अवस्थामा पुगिसकेको छ भने मस्तिष्कमा विद्युतीय झड्का दिने गरिन्छ ।

रोकथामका उपाय

– शारीरीक रुपमा सक्रिय रहने,

– रमाइला कामका लागि समय निकाल्ने,

– आफ्ना सहयोगीहरुमाझ समय बिताउने,

– योग/ध्यान गर्ने,

– अत्यन्त महत्वाकांक्षी नहुने,

– सन्तुलित एवं पोषणयुक्त खानेकुरा खाने,

– धूमपान र मध्यपानको लतमा नपर्ने,

– उदासीका कुनै लक्षण देखा परे विशेषज्ञ चिकित्सकको परामर्श लिने ।

sorce:- http://swasthyakhabar.com

Sharing is caring!

Tags:

Add a Comment

Your email address will not be published. Required fields are marked *