नुहाको नुहाई गर्ने, चुकुल लगाए पनि नलागेको शंका भइरहने जस्ता अनौठा व्यवहार किन हुन्छ?

यो तस्बिरको रोगसँग कुनै सम्बन्ध छैन। तस्बिरः इनोभेसन इन्डस्ट्री डट इन


रमा, ३० वर्षकी युवती हुन्। उनी बारम्बार टोलाइरहन्छिन्। उनको मनमा अनौठा सोचाइहरु आइरहन्छन्। जब उनी घरायसी काम गर्न खोज्छिन् तब अनौठा–अनौठा सोचाइहरु उनको मनमा तस्बिर बनेर आउँछन्। विशेषगरी पानीसँग जोडिएर कुनै काम गर्नुपर्ने भयो भने उनको मनमा अनेक तर्कना खेल्न थालिहाल्छन्। उनलाई थाहा छ, यी काल्पनिक तस्बिर आफ्नै हुन्। तर, यसलाई नियन्त्रण गर्न सक्दिनन्। मनमा अशान्ति पैदा हुन्छ। उनी मनबाट यस्ता कुरा हटाउन खोज्छिन् तर सफल हुन्नन्।

रमा लुगा धुन, नुहाउन जानै हुँदैन। उनलाई त्यहाँबाट उम्कन प्रलय पर्छ। पानीसँग जोडिएको यो ‘मनोरोग’ अनौठो छ। उनी लुगा धुन जाँदा घन्टौँ बिताउँछिन्। जब, लुगा धुँदै जान्छिन्, मनमा सोचाइ आउँछ लुगा अझै सफा भइसकेको छैन, अझै १० पटक पखाल्नुपर्छ। उनी पखाल्न सुरु गर्छिन्। यसरी गनीगनी १० पटक लुगा पखालेपछि उनी केही छिन आनन्दको सास फेर्छिन्। फेरि, त्यही सोचाइ दोहोरिन्छ, अनि उनलाई छटपटि हुन थाल्छ।

त्यसो त लुगा धुने, नुहाउने, हात धुने, घर सफा गर्ने, ढोकामा चुक्कुल लगाउने, पैसा गन्ने आदि समयमा मानिसलाई यस्ता समस्या आउँछन्। रमा जस्तै समस्या भएका धेरै मानिस छन्, जसलाई यो रोग हो भन्ने कुरा थाहै छैन। जब यस्तो समस्या उत्कर्षमा पुग्छ, तब डाक्टरकहाँ बिरामीहरु आइपुग्छन्। यस्तो समस्यालाई ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ भनिन्छ।

यस्ता अनौठा सोचाइ, तस्बिर, शंका पैदा हुँदा बिरामी आत्तिने गर्छन्। किताब पढिरहँदा सिनेमाका दृश्यहरु मनमा आइरहने र पढाइमा ध्यान कम जाने। अग्लो डाँडा या पुलमा पुग्दा अचानक ‘यहाँबाट हामफालौँ कि, हामफालेँ भने के होला?’ भनेजस्ता कल्पना आउने। मनमा हामफाल्नु हुँदैन, खतरा हुन्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि यस्ता अनावश्यक सोचाइले गर्दा मानिसलाई बेचैनी बढाउँछ। त्यस्ता बिरामी के गरौँ, कसो गरौँ भन्ने अवस्थामा पुग्छन् र कहिलेकाहीँ चिच्याउने गर्छन्।

घरमा खुकुरी, चक्कु वा बन्दुक नजिकै बस्दा मनमा शंका पैदा हुन्छ। खुकुरीले आफूलाई हानिन्छ, वा अरुलाई हानिन्छ। त्यस्तो गर्नु हुँदैन भन्ने थाहा छ, तर पनि कुनै अशुभ घटना घट्ने हो कि? भन्ने शंका–उपशंका मनमा कुदिरहन्छ। त्यसैले बिरामी यस्तो ठाउँमा बस्न रुचाउँदैनन्, त्यो ठाउँ छाडेर हिँड्छन्। यो त केवल मनको हुरी मात्र हो। सँगै बस्ने साथीलाई समेत थाहा हुँदैन, यो व्यक्तिको मनभित्र पैदा हुने मनोवैज्ञानिक समस्या हो।

अब्सेसिभ कम्पल्सिभ डिसअर्डर भएका बिरामीको सोचाइको सीमा हुँदैन। मन्दिरमा गएर देवताको बारेमा नराम्रो सोच्ने, शंका गर्नेदेखि लिएर ‘आकास किन निलो हुन्छ?’ भन्नेसम्मका अत्यन्तै विचित्रका सोचाइ दिमागमा जबरजस्ती पस्छन्।

यस्ता बिरामी प्रायः मन्दिरमा धेरै बेर बस्न सक्दैनन्। जब सोचाइ चरम उत्कर्षमा पुग्छ, तब मन्दिरबाट बाहिर निस्किन्छन्। आकासमा हेरिरहन सक्दैनन्, हतियार नजिक बस्न नसकी अर्को ठाउँमा पुग्छन्। जुत्ता–मोजा लगाउनमै घन्टौँ बिताइदिन सक्छन्। जाडो महिनामा नुहाउन बाथरुम जाने बिरामी घन्टौँसम्म नुहाइरहन्छन्। टाउको र शरीर चिसो भइसक्दा पनि पानीबाट बाहिर निस्कन सक्दैनन्। हात धुने सोचाइ आउँदा यतिधेरै धोइरहन्छन् कि, हात रातो भइसकेको पत्तै पाउँदैनन्।

प्रकाश (३०) किसान हो। विगत एक वर्षदेखि उसको मनमा एउटै विचार दोहोरिरहन्छ। जब ऊ सुत्न लाग्छ, तब उसलाई मूल ढोकामा चुकुल लगाएको बारे शंका उब्जिन्छ। ऊ छट्पटीमा पर्छ र हेर्न जान्छ। हेर्दा चुकुल लगाइसकेको देख्छ। जब ऊ सुत्न लाग्छ फेरि त्यहि कुरा मनमा दोहोरिरहन्छ। यस्तै, उसले खाना खाएपछि, दिसा–पिसाव गरेपछि ३०—४० पटकसम्म हात धुनुपर्छ। उसको मनमा विचार आउँछ, ‘हात त फोहर छ’। हात धुनासाथ केही बेरलाई शान्ति मिल्छ, तर फेरि उही सोचाइ आउँछ, ‘हात धुनुपर्छ।’

यस्तै, ऊ बाटोमा हिँड्दा जब फोहोर बस्तु देख्छ ऊ डराउँछ, फोहोर वस्तु खाइएला भनेर। उसलाई थाह छ, फोहोर वस्तु खानु हुँदैन। तर ऊ खाउँखाउँ जस्तो बनाउने डरले त्यहाँ बस्न सक्दैन। त्यस्तै, मनमा आउने यौन विचारले ऊ नातेदार केटीछेउ बस्न सक्दैन। उसलाई थाह छ, उसको सोचाइ गलत र वाकवास हो, तर ऊ त्यसबाट छुटकारा पाउन सक्दैन। यस्तो समस्यालाई पनि अब्सेसिभ कम्पल्सिभ डिसअर्डर भनिन्छ। यसमा एउटै विचार, सोचाइ, दृश्य बारम्बार मनमा आइरहन्छ र केहीमा डिप्रेसनका लक्षणहरु पनि देखिन्छ।

कारण

यो रोगको खास कारण थाहा छैन। तर, मस्तिष्कमा ‘सेरोटोनिन’ भन्ने रसायन को गडबडी हुँदा यो रोग लाग्छ भन्ने धारणा छ। यसबाहेक सोचेको काम सफल नहुँदा तथा मस्तिष्कको संक्रमणपछि पनि यो रोग भएको पाइएको छ। वंशाणुगत रुपमा पनि यो रोग सर्ने गर्छ।

यो रोग अन्त्यन्तै नैतिकवान्, आफूले भनेको हुनुपर्ने, अर्काको काममा चित्त नबुझ्ने खालका मानिसलाई लाग्ने सम्भावना बढी हुन्छ। सहन सक्ने क्षमता कम हुने, सानो कुरा पनि ठूलो रुपमा लिने मानिसहरु यो समस्याको चपेटामा पर्न सक्छन्।

अब्सेसिभ कम्पल्सिभ डिस्अर्डरबारे यी कुरा जानौँ

  • यस्ता बिरामीले लुगा धुनु हुँदैन। वा, पानीमा गरिने कुनै पनि कामबाट टाढा हुनुपर्छ।
  • यस्ता बिरामीले मनमा एउटै कुरा लिइरहनु हुँदैन। बारम्बार सोचाइ परिवर्तन गर्नुपर्छ।
  • खतरा हुने सामान र खतरा स्थानमा बिरामीलाई राख्नु हुँदैन वा बस्नु हुँदैन।
  • बिरामीलाई जति नै ठूलो समस्या देखा परे पनि त्यो केवल बिरामीको मनमा मात्र रहन्छ। सँगैका परिवार सदस्य वा साथीभाइलाई यसबारे छनक समेत हुँदैन।
  • कहिलेकाहीँ डिप्रेसन हुन सक्छ, त्यस्तो संकेत देखिएमा उपचार गर्नुपर्छ।
  • पछि कडा मानिसिक रोग पनि लाग्न सक्छ।
  • धामी–झाँक्रीबाट यो रोग निको नहुने भएकाले कुनै भ्रममा पर्नु हुँदैन।
  • उपचार गरे यो रोग निको हुन्छ।
  • यस्ता बिरामीको मनमा बारम्बार कुरा आइरहने हुनाले अत्यन्त छटपटि हुन्छ। बिरामी कुनै–कुनै कुरामा भुल्दा समस्या कम भएजस्तो हुन्छ।

विभिन्न खालका औषधिको प्रयोग तथा मनोवैज्ञानिक विधिबाट सोचाइ परिवर्तन गराउने, बिरामीको सोचाइअनुसार ध्यान केन्द्रित हुन नदिने ढंगले यसको उपचार गराइन्छ।
(मानसिक रोग विशेषज्ञ डा. सेडाईं चितवन मेडिकल कलेजमा आबद्ध छन्)

sorce:- http://swasthyakhabar.com

Sharing is caring!

Add a Comment

Your email address will not be published. Required fields are marked *