भारतको हेपाह प्रवृत्ति र स्थानीयको अवरोधका कारण तिलाठी डुबानमा

असार २६, २०७४- भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षामा डुबानले पीडित हुन्छ । खाडो खोलाको बाढीका कारण डुब्दै आएको छ तिलाठी । डुबान समस्याकै कारण कयौं परिवार अन्यत्र गएका छन् ।

तिलाठीमा घर भए पनि अन्यत्रै गएर बसोबास गर्नेको संख्या धेरै छ । यस वर्ष पनि तिलाठीमा गत शनिबारको बाढीका कारण ४ सयभन्दा बढी घरमा पानी पसेको छ । बाढी आएको साता बित्दा पनि तिलाठी पूर्व टोलका घरहरु चारैतिरवाट पानीले घेरिएको छ । पानीको निकास हुन सकेको छैन ।

तिलाठीको बाढी नियन्त्रणका लागि वर्षेनी करौडौं रकम खर्च हुँदै आएको छ । तर न त तिलाठी डुबानबाट बच्न सकेको छ न त तिलाठीवासी बाढीको त्रासबाट निस्कन सकेका छन् । बाढीको बितण्डाले तिलाठीसँगै लौनिया, सकरपुरा, रम्पुरा महल्हनियालगायत गाउँलाई सधैं त्रसित बनाएको छ ।

चुरेबाट निस्केको खाडो नदी नेपाली भुभागमा तिलाठीसम्म २५ किलोमिटरको यात्रा तय गर्छ । खासगरी पूर्व–पश्चिम राजमार्गदेखि दक्षिणका खाडो नदीसित टाँसिएका गाउँहरु हरक वर्ष बाढीको चपेटामा पर्छन् । सबभन्दा बढी निशानामा पर्ने गाउँ भने तिलाठी नै हो ।

तिलाठी हरेक वर्ष डुब्नुको पछाडी २ वटा प्रमुख कारण छ । एउटा स्थानीय समस्या अनि अर्को भारतको हेपाहा प्रवृत्ति । यी दुई समस्या समाधान गर्न सकिए खाडो नदीको बाढीबाट तिलाठी र आसपास गाउँलाई सुरक्षित बनाउन सकिन्छ ।

खाडो नदी नियन्त्रण योजनाले चुरेदेखि तिलाठीसम्म खाडोमा बाँध निर्माण गर्ने योजनाका साथ तिलाठीभन्दा उत्तरको गाउँ लौनियासम्म बाँध निर्माण गरिसकको छ । तर स्थानिय बासिन्दाको अवरोधका कारण तिलाठी गाउँभन्दा पूर्व खाडो नदीमा बाँध निर्माण हुन सकेको छैन ।

बाँध निर्माणलाई अवरोध गर्नु केही तिलाठीवासीको आफ्नै किसिमको समस्या छ । केही वर्ष अघिसम्म खाडो नदी तिलाठी नजिक (हालकोभन्दा केही पूर्व सकरपुरा) क्षेत्रबाट बग्दै आएको थियो । पछिल्लो समय नदीले बहाब परिवर्तन गरि पश्चिम आएर तिलाठी नजिकबाट बग्न थालेपछि पुरानो नदीको भागमा अहिले सकरपुराका केही व्यक्तीले आफ्नो निजी खेत बनाएर खेती गर्ने गरेका छन् ।

जुन जग्गा नेपाल सरकारको हो । बाँध निर्माणमा अवरोध गर्ने तिलाठीवासीहरु खाडो नदीकै नाममा रहेको उक्त जग्गाबाट बाँध निर्माण गर्नुपर्ने बताउँदै आएका छन् । जुन अव्यवहारिक देखिन्छ । किनभने नदीको बहाब क्षेत्र भन्दा एक किलोमिटर पर गएर बाँध निर्माण गर्दा नदीलाई उता फर्काउन सकिन्न । नदीले लिएको बहाबलाई कुनै बाँधले रोक्न सकिँदैन ।

स्थानिय देवनारायण यादव भन्छन्, ‘एकातिर विगतमा नदी बग्दै गरेको क्षेत्रमा सरकारी जग्गामा उब्जाएर खानेलाई सरकारले केही नगर्ने अर्को तर्फ हामीलाई सुकुम्बासी बनाएर बाँध निर्माण गर्न खोज्नु न्याय होइन ।’ निजी जग्गामै बाँध निर्माण गर्ने हो भने मुआब्जा दिनुपर्ने यादवको भनाई छ । तर खाडो नदी नियन्त्रण योजनाले भने मुआब्जा दिनुपर्ने प्रावधान नरहेको बताएपछि तिलाठीवासी बाँध निर्माणको अवरोधमा उत्रेका छन् ।

भारतीय हेपाहा प्रवृत्ति
खाडो नदीको बाढीबाट तिलाठी र आसपास बस्ती हरेक वर्ष डुबान र कटानमा पर्नुको अर्को प्रमुख कारण हो भारतीय हेपाहा प्रवृत्ति । सहमतिअनुसार काम नगर्ने, खाडो नदीको बहाबलाई छेक्ने गरि बाँध निर्माण गर्ने अनि नदीको पुरानो बहाबलाई नखोल्नेलगायत भारतीय प्रवृत्तिले खाडोको पानीको सहज निकास हुन नसक्दा पानी थुनिने र नेपाली बस्ती डुब्ने गरेको छ ।

गतवर्ष पानीको बहाबलाई नै छेक्नेगरि भारतीय पक्षले तिलाठीस्थित दसगजामा बाँध निर्माण गर्न थालेपछि तिलाठी र आसपासका जनता रोक्न जादा झडपसमेत भएको थियो । एकदर्जन भन्दा बढी नेपाली नागरिक घाइते भएका थिए । गतवर्षको झडप पछि र कयौं वर्षदेखि खाडो नियन्त्रणका लाग भारतीय पक्षले गरेका सहमतीहरु अझै पालना गर्न आनाकानी गर्ने गरेका छन् ।

सन २०१४ को मार्चमा दुई देशका प्राविधिकहरु स्थलगत अवलोकनपछि पटनामा भएको बैठकमा खाडो र जिता खोलालाई हाल विवादित रहेको तिलाठी दशगजा बाँध स्थल हुँदै पश्चिम तर्फ च्यानल खनी भलुवाही खोलामा खसाल्ने सहमती भएको थियो । च्यानल खन्नका लागि तय भएको जग्गा भएरै विगतमा खाडो नदी पश्चिम दक्षिण बग्दै गरेको थियो । दवबै देशका प्राविधिकले संयुक्त सर्वे गरेर योजना बनाई काम गर्ने सम्झौता भएको थियो । तर त्यसको कार्यान्वयन भने भएको छैन ।

sorce:- http://kantipur.ekantipur.com

Sharing is caring!

Add a Comment

Your email address will not be published. Required fields are marked *