Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From UAE
   
 
यूएईमा फहरायो नेपाली झण्डा, नेपाली दूतावासद्वारा अन्तरिक्रिया कार्यक्रम
 
 

 

२ जनवरी, अबुधाबी - हिजोबाट अबुधाबीस्थित नेपाली राजदूतावास केरालाइट सेन्टरको छेउको नयाँ भवनमा सरेको छ ।

1 1

 

पत्रकार तथा साहित्यकार शेषनारायण झाले वैदिक मन्त्रोच्चारण गर्दै महामहिम राजदूत अर्जुनबहादुर थापाले नयाँ भवनमा प्रवेश गरेको केही बेरमा भवनको छतमाथि नेपाली राष्ट्रिय झण्डा फहराउँदै महामहिम राजदूतले नयाँ भवनमा दूतावासको उद्घाटन गरे । कार्यक्रममा यूएईस्थित अधिकांश सक्रिय संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी र पत्रकारहरुको उपस्थिति थियो । नयाँ भवनमा सरेको अवसर पारी दूतावासले आफ्नो कार्यसूचिको विषयमा एक अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गर्‍यो ।

2 2

महामहिम राजदूत अर्जुनबहादुर थापाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा चार बुंदे कार्यसूचिमाथि बृहद् छलफल भयो । वक्ताहरुले आर्थिक कुटनैतिक विषयअर्न्तर्गत लगानी प्रबर्द्धन, आर्थिक सहयोग, रोजगार प्रबर्द्धन, पर्यटन प्रबर्द्धन, व्यापार प्रबर्द्धनका बुंदाहरुमाथि छलफल गरे । त्यस्तै कन्सुलर सेवासम्बन्धी विषयलाई लिएर यूएई सरकारले नेपालमा कन्सुलर जेनरलको कार्यालय खोल्ने सहमति भएकोले त्यसतर्फको पहलबारे छलफल भयो । कार्यक्रममा नेपाली दूतावास र यहाँस्थिति संघ-संस्थाहरुबीच सहकार्यको विषयमाथि छलफल भयो । त्यस्तै विभिन्न संघ संस्थाहरुबीचको आपसी सम्बन्धको बारेमा वक्ताहरुले विचार राखे ।

2 2

राजदूत श्री थापाले आफूले यूएईका विभिन्न क्षेत्रमा घुम्ते कन्सुलर सेवा बिस्तार गर्ने मनसाय पोख्दै नेपाली समाजलाई यसबारे समन्वय गर्न आग्रह गरे । उनले कुनै पनि व्यक्ति वा संस्थाले यस कार्यकालागि एक दिरहम पनि अतिरिक्त रकम उठाउन नपाउने कुरामा विशेष जोड दिए ।

कार्यक्रममा प्रवासी नेपाली पत्रकार सञ्जालका संयोजक तथा नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाका अध्यक्ष जाकिर हुसैनले दूतावासको कार्यसूचिमा दुई देशबीचको सांस्कृतिक सम्बन्ध बिस्तार गर्ने विषय समेटिनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा महामहिम राजदूत थापाले दूतावासले गर्ने गरेका कार्यहरुबारे प्रकाश पारे । यूएईमा नेपाली कामदारहरुले भोग्दै आएका समस्याहरुबारे वक्ताहरुले गहन कुराहरु उठाए ।

नेपाली समाजका भूतपूर्व उपाध्यक्ष राजेन्द्र देवकोटाले आफूले गरेका सामाजिक कार्य र काम गर्दाको समस्याहरुबारे प्रकाश पारे ।

कार्यक्रममा नेपाली समाजका अध्यक्ष यम तमूले नेपालीहरुका समस्याहरुको बारेमा आफ्नो विचार व्यक्त गरे ।

महामहिम राजदूत श्री थापाले संघ-संस्थाहरुको बरियताक्रमको बारेमा जिज्ञासा राखेपछि वक्ताहरुले नेपाली समाज नै यूएईमा छाता संगठनको रूपमा रहने कुरा बताए । वक्ताहरुले नेपाली समाजको बिगतको योगदानको चर्चा गर्दै यस विषयमा कुनै विवाद नरहेको विचार व्यक्त गरे । अधिकांश वक्ताहरुले कुनै संस्था कोहीभन्दा ठूलो नरहेको विचार राखे ।

दूतावासका द्वितीय सचिव लोकबहादुर क्षेत्री पौडेल र तृतीय सचिव जितेन्द्र लाभले गैर आवासीय नेपाली संघ अन्तर्रराष्ट्रिय समन्वय परिषद (एनआरएनए-आईसीसी)का कोषाध्यक्ष रामेश्वर शाह, राष्ट्रिय समन्वय परिषद (एनसीसी) यूएईका अध्यक्ष सी.एम. ढकाल, महासचिव सुरेश बस्याल, सदस्य लोक सुवेदीलगायतका पदाधिकारीहरुको नाम उद्धृत गर्दै आफूहरुलाई नियमत: दर्ता गर्न नमिल्ने निमन्त्रणा-पत्र प्रकृतिको निवेदन दर्ता गर्न दबाव दिंदै दूतावासको कार्य नै अबरुद्ध हुने गरी अभद्र व्यवहारसमेत गरेको दुखेसो समाजसेवीहरुको अगाडि राखेपछि अधिकांश वक्ताहरुले एनआरएनए एनसीसीप्रति नकारात्मक दृष्टिकोण समेतको विचार राखे । यूएईबाट चुनिएर गएका एनआरएनए आईसीसीका केन्द्रीय सदस्य पि.एस. लिम्बू र एनसीसी यूएईका उपाध्यक्ष शेषनारायण झाले संस्थाका केही व्यक्ति विशेषले त्यस्तो गर्दैमा एनआरएनए सिंगो संस्थालाई दोष लगाउनु हुँदैन भनेर स्पष्ट पारे ।

अंग्रेजी नयाँ वर्षको दिन दूतावासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम र एनआरएनएको वनभोज भनी प्रचारमा ल्याइएको कुरालाई लिएर बिवादतिर ढल्किंदै गएको अवस्थालाई प्रकाश पार्दै एनसीसीका उपाध्यक्ष झाले एनआरएनएले बनभोजसम्बन्धी कुनै निर्णय नगरेको र पछि एनआरएनएको लेटरहेड प्रयोग गरी बिना निर्णय केही व्यक्ति विशेषले आयोजना गर्न लागेको फ्यामिली पिकनिकलाई एनआरएनएको नाममा प्रचार गरिएको प्रकाश पारे । उनले एनआरएनए संस्थालाई कसैले पनि विवादमा नल्याउन आग्रह गरे ।

नेपाली आदिवासी जनजाति महासंघका अध्यक्ष भूवन राईले दूतावासका कर्मचारीहरुलाई अभद्र व्यवहार गर्नेहरुमाथि कार्यवाही हुनु पर्ने विचार पोखे । नेपाली समाजका सचिव तथा जनप्रगतिशील मञ्चका उपाध्यक्ष उत्तम अधिकारीले दूतावासका कर्मचारीहरुप्रति अभद्र व्यवहार गर्नेहरुमाथि कार्यवाही हुनु पर्ने भन्दै आफ्नो विचार राखे । तमू समाजका अध्यक्ष राजू तमूले दूतावासका कर्मचारीहरुप्रतिको दूर्व्यवहारप्रति खेद प्रकट गर्ने विचार पोखे । नेपाली एकता समाजका अध्यक्ष मानबहादुर थापाले त्यस्ता प्रवृत्तिका व्यक्तिहरुलाई सामाजिक कार्यवाही गर्नु पर्ने र सवै समाज मिली उनीहरुको यस दूर्व्यवहारप्रति सामूहिक खेद प्रकट गर्ने विचार राखे । नेपाली समाजका भूतपूर्व अध्यक्ष कृष्ण ढकालले दूतावासमा आएर यसरी कर्मचारीहरुलाई दबाव दिई दूर्व्यवहार गर्नेहरुलाई सामाजिक बहिष्कार गरिनु पर्ने बताए । त्यस्तै नेपाली जनप्रगतिशील मञ्चका सदस्य रमेश बेलबासेले यस्ता प्रवृत्तिका व्यक्तिहरुलाई सामाजिक बहिष्कार गर्ने कुरा राखे ।

वक्ताहरुले राजदूत थापासँग दूतावासले यस्ता व्यक्तिहरुलाई के कार्यवाही गर्नेछ भन्ने प्रश्न गर्दा उनले यसबारे सवैको राय बुझ्न चाहेको बताए ।



3

कार्यक्रममा नेपाली समाज, गैर आवासीय नेपाली संघ एनसीसी यूएई, नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखा, नेपाली आदीवासी जनजाति महासंघ, नेपाली जनप्रगतिशील मञ्च, नेपाली एकता समाज, प्रवासी नेपाली संघ, दुबई नेपाल जनकल्याण राहत प्रतिष्ठान, तामाङ सामाज, ईलामेली समाज, नेपाली साहित्य तथा सांस्कृतिक परिषद्, र्सवदा वाङमय प्रतिष्ठान, किरात राई यायोक्खा, मगर समाज, तमू समाजलगायतका संघ-संस्थाका पदाधिकारी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा गैर आवासीय नेपाली संघ केन्द्रीय सदस्य पि.एस. लिम्बू र नेपाल एयरलाइन्सका प्रबन्धक प्रतिसरा मानन्धरको पनि उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया :


श्रीमान् सम्पादक ज्यू,

 

तपाँइको अनलाईन वेभ साइटमा प्रकाशित यूएइमा फहरायो नेपाली झण्डा, नेपाली दूतावासद्धारा अन्तरक्रिया कार्यक्रम शिर्षकमा छापिएको समाचारमा दूतावासका द्वितीय सचिव लोकबहादुर क्षेत्री पौडेल र तृतीय सचिव जितेन्द्र लाभले गैर आवासीय नेपाली संघ अन्तर्रराष्ट्रिय समन्वय परिषद (एनआरएनए-आईसीसी)का कोषाध्यक्ष रामेश्वर शाह, राष्ट्रिय समन्वय परिषद (एनसीसी) यूएईका अध्यक्ष सी.एम.ढकाल, महासचिव सुरेश बस्याल, सदस्य लोक सुवेदी लगायतका पदाधिकारीहरुको नाम उद्धृत गर्दै आफूहरुलाई नियमतस् दर्ता गर्न नमिल्ने निमन्त्रणा-पत्र प्रकृतिको निवेदन दर्ता गर्न दबाव दिंदै दूतावासको कार्य नै अबरुद्ध हुने गरी अभद्र व्यवहारसमेत गरेको दुखेसो समाजसेवीहरुको अगाडि राखेपछि अधिकांश वक्ताहरुले एनआरएनए एनसीसीप्रति नकारात्मक दृष्टिकोण समेतको विचार राखे भन्दै, विभिन्न व्यक्तिहरुले बोलेको विचारलाई कोट गर्दै प्रकाशित गरिएको समाचार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

गैर अवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष श्री रामेश्वर शाह ज्यूले गएको नोभेम्वर २८ तारिख नै नयाँ वर्ष २०१० को समय पारेर शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम आयोजना गर्न गरेको अनुरोध वमोजिम गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएईले वनभोजको लागि इच्छुक व्यक्ति तथा यूएईमा रहेका विभिन्न क्षेत्रका महानुभावहरुका साथै परिवार तथा बच्चा सहितको वनभोजको आयोजना गरिएको हो । सोही दिन पारेर नेपाली दूतावासले पनि नेपालीहरु वीच अन्तरक्रिया कार्यक्रम गर्ने भनी अनौपचारिक निमन्त्रणा गरेको थियो । सबै कुरा व्यावस्थापन गरिसकिएको र संचार माध्यम मार्फ धेरैलाई खवर पुगेको तथा निमन्त्रणा गरिसकिएकोले वनभोज कार्यक्रमको मिति पछाडि सार्न असम्भव भएकोले नेपाली दूतावासको कार्यक्रम सम्भव भए सार्न वा वनभोजको कार्यक्रम सकेपछि गर्न अनुरोध गरिएको हो ।

गत ३० डिसेम्वर २००९का दिन गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएईले गैर आवासीयहरुको दोहोरो नागरिकता संम्बन्धि माग पत्र बुझाउनको लागि नेपाली दूतावास अवुधावीमा मेरो नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले सो माग पत्र महामहिम श्री अर्जुनबहादुर थापा ज्यूको अनुपस्थितिमा द्धितिय सचिव श्री लोकबहादुर पौडेल क्षेत्रीलाई बुझाएको थियो । त्यसै अवसरमा महामहिम राजदूत श्री थापालाई वनभोज कार्यक्रमको निमन्त्रणा पत्र डिसेम्बर २६मा नै पठाइ सकेको र वहाँले कुनै औपचारिक पत्र नपाएको भन्ने सुन्नमा आएकोले तथा एकै दिन दुईतिर दुईवटा कार्यक्रम गर्दा नेपाली जनता वीच नकारात्मक सन्देश जान सक्ने अवस्थालाई मध्य नजर गर्दै दूतावासका द्धितिय सचिव श्री पौडेल, तृतिय सचिव श्री जितेन्द्रकुमार लाभ तथा श्रमसहचारी पार्वती अर्याल समक्ष वनभोज र अन्रक्रिया एकै दिन गर्ने भए समन्वय गरी गरौं भनी गरिएको अनुरोधलाई नीजहरुबाट भोली विहान सम्ममा जानकारी गराउने भन्ने विचार आएको थियो र यसरी सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको थियो । दूतावासका कर्मचारी माथि गरिएको भनिएको अभद्र व्यवहार र्सवथा झूठो र मित्या भएको जानकारी गराउन चाहान्छौं ।

त्यसै अवश्थामा महामहिम ज्यूले औपचारिक निमन्त्रणा नपाएको सुन्नमा आएको सन्दर्भमा एक अनुरोधात्मक पत्र दर्ता गराउन अनुरोध गरिएको थियो । जसको प्रतिलिपि यसै साथ संलग्न छ । सो पत्र दूतावासका कर्मचारीहरुले महामहिम ज्यूलाई नसोधी दर्ता गर्न नमिल्ने भने पछि केही समय दर्ता गर्न हुन्छ र हुन्न भन्ने कुरामा समान्य छलफल भएको हो । तर दूतावासले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा दर्ता गर्न लगिएको पत्रको जानकारी नै नगर्राई निर्लज्ज तरीकाले अभद्र व्यवहार गरेको भन्दै विभिन्न संघ संस्थाका व्यक्तिहरुलाई गलत सूचना प्रवाह गरी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएई र सिंगो संस्था प्रति आँच आउने अभिव्यक्ति गराएको आभाष भएको छ । दूतावासका कर्मचारी माथि दुव्यवहार गरेको भन्ने अभिव्यक्ति प्रति खेद व्यक्त गर्दछौ । नेपाली दूतावास तथा दूतावासमा कार्यरत कर्मचारी प्रति हाम्रो सदैव श्रद्धा, सद्भाव र सहयोग रही रहने छ । यूएईमा रहेका सम्पूर्ण संघ संस्था, बुद्धिजीवि तथा सर्वसाधारण जनता प्रति यस्ता नकारात्मक सन्देश प्रवाह नगर्न नेपाली दूतावास यूएईलाई गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएई हार्दिक अनुरोध गर्दछ । साथै उक्त दिन भएको भनिएको अवस्थाको वास्तविक जानकारी लिई उचित सुझाव र सल्लाह दिन यूएई स्थित सम्पूर्ण संघ संस्था तथा सर्वसाधारणमा राष्ट्रिय समन्वय समिति यूएई हार्दिर्क अनुरोध गर्दछौं । दूतावासका कर्मचारी माथि गरिएको भनिएको अभद्र व्यवहार सर्वथा झूठो र मित्या भएको जानकारी गराउद छौं ।

स्मरण रहोस् उक्त प्रतिनिधि मण्डलमा नेपाल पत्रकार महासंघ सम्पर्क शाखा यूएईका अध्यक्ष जाकिर हुसैन तथा महासचिव जे. पी. सापकोटाको पनि उपस्थिति रहेको थियो ।

Non-Resident Nepalese Association UAE :-

 

स्थानाभावले प्रेषकले नत्थी गरी पठाएको चिठी यहाँ समावेश गर्न नसकेकोमा क्षमा प्रार्थी छु । - सम्पादक


सम्पादक ज्यू,

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूएईले छपाएको खण्डनमा मेरो नाम उद्धृत गरिएकोले ध्यानाकर्षण भएको छ । उक्त खण्डनमा म संघको उक्त प्रतिनिधि मण्डलमा सामेल रहेको आशय झल्किएकोले स्पष्ट पार्न आवश्य ठान्दछु ।

म उक्त प्रतिनिधि मण्डलमा सामेल थिइन न संस्थाबाट कसैलाई प्रतिनिधित्व गर्न पठाएको थिएँ । म आफ्नो काम विशेषले सोही समयमा दूतावासमा उपस्थित थिएँ । मलाई कसले उक्त प्रतिनिधि मण्डलमा आमन्त्रण गरेको थियो र के आशयले मेरो नाम उक्त प्रतिनिधि मण्डलमा गाभिने प्रयास गरिएको छ म बुझ्न सकिन । कसैलाई त्यस्तो भ्रम नपरोस् ।

खण्डनमा छापिएका बाँकी कुराहरु सामाजिक संस्थाहरुको भेलामा उपस्थित भई स्पष्ट पार्न जति बेला पनि तत्पर छु ।

जाकिर हुसैन
अध्यक्ष
नेपाल पत्रकार महासंघ सम्पर्क शाखा यूएई


 

कृपया प्रतिक्रिया पठाउनको लागि इमेल ठेगाना यसप्रकार छ : 1info@enepalionline.com

 
Server Update Time:02-01-10 | 6:40 PM - GMT +5:45

All Rights Reserved © 2007 Nepal Gulf Media Network Pvt. Ltd.
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.