Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
News From UAE
   
 
सांस्कृतिक कार्यक्रम गर्दै दुबईमा मनाए तमूहरुले तो ल्होसार
 
 

निमेष गिरी


९ जनवरी, दुबई - 'शालै ज्यू पानी खायो बाघैले' बोलको गीतमा आँखा झिम्क्याउँदै भावना ढकालले कम्मर मर्काई मर्काई नाच्दा कैयौं दर्शक कुर्सी छोडी नाच्न थालेको देखिए । हलको माहौल नेपालको गाउँबेसीको मेलामा मारुनी नाचमा वैंशले घोर्ले भएका वयस्कहरु आफ्ना सोल्टिनाहरुसँग मायाप्रितीका भाकाहरु आँखाले साट्न व्यस्त भएको अनुभूति हुन्थ्यो।


1 2

बरदुबईको एस्टोरिया होटलमा तमू समाज यूएईले आयोजना गरेको २५९४औं तो ल्होसार कार्यक्रम हेर्न आएका दर्शकहरुको होश गुम गराउन प्रितम र सुनिता तमूले एकअर्कालाई चखेवाको जोडीझैं 'वनमा फुल्यो फूल, माया जीवनमा नगर्नू है भूल' बोलको गीत पर्याप्त भयो । यस जोडीले प्रेमका गुच्छाहरु आदान प्रदान गर्दै आँखा र शरीरको भाकाले मञ्चमा नृत्य गर्दा दर्शकदीर्घाको होश हराइ प्रेमिकासँग मायाका भावहरु साटिरहेको महसुस गर्दै आफ्नो प्रेमी र प्रेमिकाको यादमा वैचेन भए ।

 

मायालुको यादमा छट्पटाएका मनहरुलाई चोरी गर्न 'चोरी भो चोरी भो, के चोरी भो' भन्दै सम्झना बाइवाले मञ्च हल्लाइन् । निश्चय नै उनी दर्शकको मन चोर्न सफल भएकिथिइन् ।

यूएईमा काममा व्यस्त रहने दर्शकहरुलाई 'मिनी बसमा जाऊँ सँगै पोखरा' भन्दै मिनी बसमा राखी तमाम दर्शकलाई गायक गगन तमू र गायिका बिमला श्रेष्ठले पोखराको सयर गराउन सफल भएको जस्तो भान भयो कार्यक्रममा ।

 

दर्शकलाई चेतना दिने उद्देश्यले एक गीती प्रहसनमा दुई वटी श्रीमती राखेपछिका पीडा दर्शाउन नारायण गोपालको गीत 'यति धेरै माया दिई, मन भरी दुःख नदेऊ' को सहारा लिई कलाकारहरु श्याम तमू, रिचा थापा र दीपक गुरुंगले दर्शकलाई निकै भावूक मुद्रामा लैजान सफल भए ।

कार्यक्रममा नेपाली र तमू भाषाका गीतहरु प्रस्तुत भएका थिए । पृथ्वी गुरुंगले तमू भाषाको "ङ खन हृयाले ङ खन टिले" बोलको गीतमा नृत्य गर्दै तमू तथा अन्य भाषाका दर्शकहरुलाई पनि मनोरञ्जन गराएका थिए । कार्यक्रममा पूजा लामा, मिलन तमू, पृथ्वीराज गुरुंग पूर्ण गुरुंगहरुले गीत तथा नृत्य प्रस्तुत गर्दै दर्शकहरुलाई रोमाञ्चित बनाएका थिए ।

प्रवासको मरुभूमिमा आफ्नो परिवार, राष्ट्र र भूगोलदेखि टाढा रहँदै प्रेमी र प्रेमिकादेखि टाढा रहनु पर्ने बाध्यात्मक परिस्थितिलाई दर्शाउन 'नबिर्सें तिमीलाई न पाएँ तिमीलाई बिना अर्थ दिलमा सजाएँ तिमीलाई' भन्दै गायिक रेखा घिमिरेले प्रेमीलाई आफ्नो प्रेमिका र प्रेमिकाले आफ्नो प्रेमीको याद गर्न विवश तुल्याएकी थिइन् ।

 

3 4

कार्यक्रममा तमू संस्कृतिको पहिरन प्रतिस्पर्धा भएको थियो जसमा पुरुषतर्फ तिलक गुरुंग र महिलातर्फज्योति गुरुंग उत्कृष्ट ठहरिए र पुरस्कार पनि थापे ।

राजू तमूले सभापतित्व गरेको उक्त कार्यक्रममा महामहिम राजदूत अर्जुनबहादुर थापा प्रमुख अतिथि थिए । कार्यक्रममा निकै बेर विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई अतिथिको आसन ग्रहण गराउनु पर्ने भएर केही क्षण दर्शकहरु नराम्रो अनुभूति गरिरहेका थिए । कार्यक्रममा महामहिम राजदूत अर्जुनबहादुर थापा, नेपाली समाजका अध्यक्ष यम तमू, नेपाली आदीवासी जनजाति महासंघका अध्यक्ष भूवन राई र नेपाल पत्रकार महासंघका अध्यक्ष जाकिर हुसैनले २५९४औं तो ल्होसारको शुभकामना व्यक्त गरे ।

डी.आर. गुरुंग, टेक तमू र ज्योति तमूले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रममा संस्थाका महासचिवले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

 
Server Update Time:10-01-10 | 8:55 PM - GMT +5:45

All Rights Reserved © 2007 Nepal Gulf Media Network Pvt. Ltd.
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.