निमेष गिरी
९ जनवरी, दुबई - गत ३० डिसेम्बरमा गैर आवासीय नेपाली संघ (एनआरएनए)का केही पदाधिकारीहरूबाट नेपाली राजदूतावास अबुधाबीका कर्मचारीहरूलाई भएको अभद्र व्यवहारको विषयमा यूएईका सामाजिक संघ-संस्था, दूतावास र सम्बन्धित व्यक्तिहरूको संयुक्त बैठकले आइन्दा निजहरूबाट यस्तो व्यवहार हुनु हुँदैन भन्ने आशाका साथ क्षमायाचना गर्दै विवाद टुंगिएको छ ।
एनआरएनए-एनसीसी यूएईले गर्न लागेको भनिएको पिकनिकमा दूतावास परिवार उपस्थित हुन अनुरोध गरिएको व्यहोराको निवेदन दूतावासमा दर्ता गर्न आग्रह गर्दा यस्तो प्रकृतिको पत्र दर्ता नगरिने कुरा दूतावास कर्मचारीद्वारा उत्तर पाएपछि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष रामेश्वर शाह, राष्ट्रिय समन्वय परिषद् यूएईका अध्यक्ष चुँडामणि ढकाल, महासचिव सुरेश बस्याल र सदस्य लोकनाथ सुवेदीले ३-४ घण्टासम्म बहस गर्दै दूतावासको नियमित कार्य अबरुद्ध हुने गरी दबाव दिनुका साथै अभद्र व्यवहारसमेत गरेको विषयलाई लिएर यूएईस्थित संघ-संस्था, निज व्यक्तिहरू र दूतावासका कर्मचारीहरूको एक संयुक्त बैठकले निजहरूको व्यवहारलाई अभद्र ठहर्याएपछि निजहरूले आफ्नो गल्ती स्वीकार गरी क्षमायाचना गर्दै आइन्दा त्यस्तो गल्ती नगर्ने वचन दिएका छन् ।
जनवरी १ तारेखका दिन नेपाली दूतावास नयाँ भवनमा सर्ने अवसर पारी दूतावासले एउटा अन्तरक्रिया कार्यक्रम गरेको थियो । सोही मितिमा उक्त व्यक्तिहरूको सक्रियतामा वनभोज कार्यक्रम आयोजना गर्ने समाचार बाहिर आएपछि एनआरएनए एनसीसीका केही पदाधिकारीहरू उक्त वनभोज एनआरएनए एनसीसीको मिटिंगबाट निर्णय नगरीकनै केही व्यक्ति विशेषले आयोजना गरिएको वनभोज भएको विचार यूएइ भरि फैलिएपछि वातावरण अहसज भएको थियो । विभिन्न अग्रज समाजसेवी तथा बुद्धिजीवीहरूले दुईटै कार्यक्रमलाई समय-स्थान परिवर्तन गरी सहज बनाउने प्रयास गरेका थिए ।
कार्यक्रम हुने दुई दिनअघि उक्त व्यक्तिहरूको एउटा समूहले निमन्त्रणा प्रकृतिको एउटा पत्र दूतावासमा दर्ता गर्न दबाव दिंदै अभद्र व्यवहार गरेपछि यूएइस्थित सामाजिक संघ-संस्थाहरूले त्यसको भर्त्सना गर्दै खेद प्रकट गरेको समाचार विश्वभरिका नेपाली अनलाइन मिडियाहरूमा आएकोले गैर आवासीय नेपाली संघका केन्द्रीय नेतृत्वको समेत यसतर्फ ध्यानाकर्षित भएको थियो ।
हिजो यूएइका नेपाली संघ-संस्थाहरूका साझा संगठन नेपाली समाजको आयोजनामा दुबईको एस्टोरिया होटलमा बसेको संयुक्त बैठकले निकालेको निष्कर्ष र निज व्यक्तिहरूले गरेको स्वीकारोक्ति र क्षमायाचनाले भविष्यमा यहाँका सामाजिक कार्यकर्ताहरूबीच सौहार्द्रपूर्ण वातावरण बन्ने आशा गरिएको छ ।
बैठकका दौरान सामाजिक संघ संस्थाहरूबीच सुमधुर सम्बन्ध स्थापित रहोस् महामहिम राजदूत अर्जुनबहादुर थापाले भने ।
यही समस्यालाई लिएर गत साता यूएईमा उक्त व्यक्तिहरूलाई नेपाली आदीवासी जनजाति महासंघले सामाजिक बहिष्कारसमेत गरेको कुरा छापामा प्रकाशमा आएको थियो । |