Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
Interview
   
 
भारतीय 'दाइवाद' माओवादीको चुनौती : पाण्डे
 
 

03-August-2008
enepalionline.com |NRNA-USA|

----------------------------

छिमेकी भारतले आफूलाई ठूल्दाइ ठानेर नेपालमाथि चलाउने हैकमप्रति अत्यन्त चिन्तित एक युवाको नाम हो अनिल पाण्डे । अनिल पाण्डे अमेरिकामा रहेका नेपालीका लागि लोकप्रिय नाम पनि हो । खासगरी क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीका अभिभावक, सल्लाहकार, संरक्षक र सहयोगीको भूमिका निर्वाह गर्न सफल भएकै कारण उनको यो लोकप्रियता बढेको हो । ।

नेपालबाट क्यालिफोर्नियाको सनफ्रान्सिस्को आएका नेपालीका लागि पाण्डे सयौं पटक आतिथ्यको भूमिकामा देखिएका छन् । राजनीति, कला, साहित्यका क्षेत्रमा पनि उत्तिकै सक्रिय पाण्डेलाई एक शब्दमा 'राष्ट्रभक्त' भन्न उचित हुन्छ । सही अर्थमा उनका हरेक गतिविधि देशभक्तिले ओतप्रोत लाग्छन् । पाण्डेलाई धेरै नेपालीले क्यालिर्फोनियाका नेपालका अवैतनिक राजदूत वा कन्सुलर भन्न रुचाउँछन् । पाण्डेले मदरल्याण्ड नेपालका तर्फाट सबैलाई सघाइरहेका पनि छन् ।

अमेरिकामा रहेको नेपाली संस्था मदरल्याण्ड नेपाल २०५६ सालमा पाण्डेकै पहलमा खडा भएको हो । नेपालको विकासमा सानो-ठूलो योगदान दिन सफल प्रायः सबै व्यक्ति क्यालिफोर्निया पुगेपछि मदरल्याण्डको सम्पर्कमा आउँछन् । पत्रकार, कलाकार, राजनीतिज्ञ सबै मदरल्याण्डका पाहुना भैसकेका छन् । अमेरिकामा बसेका नेपाली तथा नेपालका शुभचिन्तक विदेशीसँग चन्दा उठाएर मदरल्याण्डले पत्रकारिता, स्वास्थ्योपचार तथा प्राकृतिक प्रकोपका क्षेत्रमा सहायता तथा उद्धार कार्य गर्दै आएको छ ।

प्रस्तुत छ, विगत डेढ दशकभन्दा लामो समयदेखि अमेरिकामा बस्दै आएका मदरल्याण्ड नेपालका अध्यक्ष पाण्डेसँग नेपालको समसामायिक विषयमा भएको कुराकानीको सारसंक्षेप-

 

तपाईं नेपालको राजनीतिमा लामो समयदेखि समीक्षा लेख्दै आउनुभएको छ । आजको राजनीतिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

आज नेपालको राजनीति इतिहासमै र्सवाधिक चुनौतीपूर्ण मोडमा पुगेको छ । नेपाली भाषा, सँस्कृति, परम्परादेखि मुलुकको सीमासम्म अतिक्रमणमा परेका छन् । छिमेकी भारतको दबाब र प्रभाव बढिरहेको छ । यो यति खतरनाक बिन्दुमा पुगेको छ कि, उपराष्ट्रपति परमानन्द झासमेत हिन्दीमा शपथ खाएर उसको चाकडी गरिरहेका छन् । भारतलाई खुसी पार्न नेपाली राजनीतिज्ञहरुबीच होड चलिरहेको छ । उपप्रधानमन्त्री झाले हिन्दीमा शपथ खानु त्यसकै मार्मिक तथा घातक एक उदाहरण मात्र हो ।

नेपाली राजनीतिक दलहरुबीच राष्ट्रियताका सवालमा पनि एकता छैन । राज्यका तीनवटै निकायमा भारतीय गुप्चतर कुख्यात संस्था 'र' ले नेपालका प्रभावशाली व्यक्तिहरुलाई हात लिइसकेको छ । देशका संवाहकहरु नै भारतको इशारामा चलिरहेका छन् । खासगरी नेपालमा राजतन्त्रको अन्त्यपछि भारतीय 'दाइवाद' ले नेपालीलाई बर्बादीतिर धकेलिरहेको छ ।

 

अबको सरकार कस्तो र कसको हुनुपर्छ ?

अबको सरकार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालकै अध्यक्षतामा गठन हुनुपर्छ । २०४६ सालको परिवर्तनपछि भएको प्रजातान्त्रिक अभ्यासका १५ बर्षमा हामीले नेका, एमाले, राप्रपा लगायतका पार्टीलाई सरकारमा राखेर हामीले हेरिसक्यौं । अरुलाई हामीले हेरिसक्यौं पटक-पटक, अब माओवादीलाई हेरौं यस पटक ! तर माओवादीका लागि भारतीय 'दाइवाद' भयानक चुनौती देखिएको छ । उसलाई सफल हुनभने दिइने छैन । माओवादीकै कारणले भारतले तर्राईका मधेशी नेपालीलाई उचालेर 'एक मधेश एक प्रदेशको छेकाबार लगाउन खोजेको छ ।

 

माओवादीले सरकारमा पुगेपछि ध्यान दिनुपर्ने प्राथमिकताका विषय कुन-कुन हुन् ?

जनतालाई तत्काल देखिने गरी केही राहत प्याकेज दिनसक्नुपर्छ । व्यवस्थापन पक्ष कमजोर भएका कारण पछि परेको नेपालका लागि दृढ नेतृत्वको सख्त आवश्यकता छ । हेर्नुस्, माओवादीले चाहृयो भने नेपालको साँच्चिकै मुहार फेर्नसक्छ । ऊसँग मात्र जुझारु कार्यकताहरु छन्, नेका र एमालेकाजस्ता शौखिन कार्यकर्ता उसका छैनन् । वाइसिएलका कमजोरीहरु त छन्, ऊ अराजक र अनियन्त्रित छ भनेर आलोचना पनि भएको छ तर त्यसलाई सकारात्मक दिशामा मोड्न सक्ने सम्भावना पनि छ ।

आज काठमाडौंमा मात्र ट्राफिक व्यवस्था, फोहोरको दुर्गन्धआदि दर्जनौं समस्या देखिन्छन् । सरकारले चाहेर पनि समाधान गर्न नसकेका थुप्रै समस्या छन् । पेट्रोलियम पदार्थको हाहाकार छ । वाइसिएलले काठमाडौंको कलंकी सोल्टिमोडबाटो बनाएजस्तै काठमाडौंको रुपनै फेर्नसक्छः यो एक उदाहरण मात्र हो ।

 

तराइ क्षेत्रको सशस्त्र द्वन्द्व सदाका लागि अन्त्य गर्न सकिन्न ?

केही बर्ष हामीले यो घाउलाई नचाहेर पनि पाल्नैपर्ने भएको छ । सोझो अर्थमा यो तोरी पेल्दा निस्केको पिना हो- माओवादी द्वन्द्वको बाइप्रोडक्ट । नेपालको तराइ क्षेत्रमा शताब्दीयौं देखिको असन्तोष कायम थियो । माओवादीले सशस्त्र द्वन्द्व चलाएरै सरकार र समाजबाट 'रिकग्निसन' पाएको तराइ क्षेत्रका नेपालीले देखेका छन् । आज उनीहरु त्यही अस्तित्व पाउने आशामा छन् । भारतका विहार र युपीका विभिन्न स्वार्थी समुदायबाट परिचालित भएर नेपालमा अराजकता मचाइ रहेका छन् । केही बर्षसम्म, निर्वाचित केन्द्रीय र संघीय सरकारले जनता रिझाउने काम नगरेसम्म त्यसलाई मलजल पुगिरहन्छ ।

 

अब अलिकति अमेरिकाको कुरा गरौं । तपाईं क्यालिफोर्नियामा नेपाली कन्सुलरको कार्यालय चाहियो भनेर बारम्बार आवाज उठाइरहनुभएको छ, किन ?

अमेरिकाको यस राज्यमा मात्र नेपाली विद्यार्थीको संख्या १० हजारभन्दा बढी छ । मदरल्यान्ड नेपाल वा अरु संस्थाहरुले सञ्चालन गर्ने कार्यक्रमहरुमा भएको नेपालीको उपस्थिति र स्थानीय कलेज, ब्यापारिक प्रतिष्ठान एवं रेष्टुराहरुमा नेपाली अनुहार हेर्दा यो संख्या पश्चिमी अमेरिकामा ५० हजारभन्दा बढी हुनुपर्छ भनेर अनुमान गरिएको छ । तपाईंलाई थाहा छ, क्यालिफोर्निया राज्यमा अमेरिकाका दुइ विशालतम महानगरहरु छन्- लस एञ्जलस र सनफ्रान्सिस्को । यी दुवै महानगरमा नेपालीको संख्या उल्लेख्य छ ।

क्यालिफोर्निया राज्य पश्चिमी अमेरिकाको राजधानी नै मानिन्छ । वरिपरिका १७ प्रान्तहरुका लागि यो अठारौं राज्य-केन्द्र हो । मेन्टाना, आइडाहो, नेभादा, यरिजोन, ओरेगा, वासिंगटन, न्यू मेक्सिको, टेक्सास, ओक्लाहोमा, कन्सास, नेब्रास्का, साउथ डाकोटालगायत राज्यमा रहेका नेपालीहरु अमेरिकाको पूर्वी कुना वासिंगटन डिसीमा रहेको नेपाली राजदूतावासबाट उचित सरसहयोग पाउनबाट वञ्चित छन् भन्दा पनि हुन्छ ।

कन्सुलर अफिसका लागि के-कस्ता प्रयास गर्नुभएको छ ?

कन्सुलर कार्यालय चाहियो भनेर राजतन्त्रका राजादेखि गणतन्त्रका माओवादी अध्यक्ष प्रचण्डसम्म पनि यो माग पुगिसकेको छ । राजा ज्ञानेन्द्रको शासनकालमा नै हामीले क्यालिफोर्नियामा नेपाली कन्सुलरको कार्यालय चाहियो, क्यालिफोर्निया र अमेरिकाको पश्चिमी पाटोमा बसेका नेपालीका लागि हजारौं रुपियाँ खर्च गरेर वासिंगटन डिसी पुग्नु समस्याको विषय भयो भनेर बिन्तीपत्र हाल्यौं ।

गत वर्ष पुस महिनामा मात्र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई निवेदन पनि लेख्यौं । त्यसमा सयौं नेपालीले हस्ताक्षर गरेका छन् । तर जसरी विन्तीपत्र गायब भएको थियो त्यसरी नै निवेदन पनि रद्दीको टोकरीमा फालियो । कुनै कारबाही भएन । तर आशा छ, माओवादी अध्यक्ष प्रचण्डले भने यस मागलाई गम्भीर रुपमा लिनुहुनेछ । हामी उहाँले सरकार गठन गर्ने र क्यालिफोर्नियामा कन्सुलर कार्यालय खोल्न स्वीकृति प्राप्त हुने प्रतीक्षामा छौं ।

यहाँ कन्सुलरको कार्यालय खोल्न सकेमा नेपालीको समय र पैसाको वचत त हुन्थ्यो नै साथमा नेपाल जाने अमेरिकी पर्यटकको संख्या पनि बृद्धि हुने थियो । सबैलाई जानकारी भएकै तथ्य हो, नेपालको समृद्धि नेपालीले विदेशमा आएर कमाइ गरेर विदेशी मुद्रा नेपाल लगे वा विदेशी पर्यटकलाई नेपाल भित्र्याउन सके मात्र सम्भव छ ।

 

वाशिंङटनस्थित नेपाली राजदूतावासको कामप्रति सन्तुष्ठ हुनुहुन्छ ?

मैले सन्तुष्ट हुने अवसर पाएको छैन । किनभने वासिंगटनको दूतावाससँग अमेरिकामा रहेका नेपालीको उत्थानका लागि कुनै दृष्टिकोण र कार्यक्रम नै छैन । आखिर दूतावास भनेको नेपाल सरकारको प्रतिछायाँ न हो । सरकारको भिजन, ध्येय र लक्ष्य भए न यसले पनि त्यसलाई कार्यान्वयन गर्ने हो । राजदूतावासमा कर्मचारीहरु छन् । कर्मचारीको काम जागिर खानु हो । उनीहरुले ठूलो शक्ति र सामर्थ जुटाएर अमेरिकाको कर्मचारी बन्ने अवसर पाएका छन् । त्यही सदुपयोग गरिरहेका छन् । तर यस सम्बन्धमा मैले देखेको सत्य के हो भने राजदूतावासका कर्मचारीलाई गाली गरेर मात्र पनि हुन्न, उनीहरुलाई एक हातमा बजेट र अर्को हातमा योजना दिने हो भने अवस्था भिन्न हुनसक्थ्यो ।

 

जनता र राजनीतिक दलहरुलाई कुनै साल्लाह छ कि ?

नेपाली जनता परिश्रमी, इमान्दार र सरल प्राणी हुन् । उनीहरु शासक र नेताहरुबाट बारम्बार ठगिंदै र झुक्याईंदै आएका छन् । लोकतन्त्र र संघीयताका नाममा पनि उनीहरुमाथि भयानक षड्यन्त्र हुनसक्ने सम्भावना छ । यसमा हामी सजग हुनर्ुपर्छ । साथसाथै नेता र शासकहरुले पनि नेपालीलाई राणाकालका प्रजा नै ठानेर शोषण गरे भने त्यो टिक्नेवाला छैन । किनभने नेपाली जनता इमान्दार छन् तर बुद्धु छैनन् । समावेशी सिद्धान्तको चेतनाले नेपालीलाई परिस्कृत विचार दिएको छ । शासक तथा नेताहरुले स्थायी राजनीति गर्ने हो भने यो एक्काईसौं शताब्दी हो भन्ने यथार्थलाई हृदयंगम गर्न सक्नुपर्छ ।

 

अन्तिम प्रश्न गरौं, अब साँच्चै देशको हित गर्ने संविधान बन्ला त ?

यो नेतृत्वमा भर पर्ने विषय हो । सबैलाई थाहै छ, संविधानसभाकै कारण छिमेकी भारत र पाकिस्तान टुक्रिए । यसलाई सदुपयोग गर्न सकेकै कारण दक्षिण अफि्रकाको जातिविभेद अन्त्य हुने क्रममा छ । तरपनि म के कुरामा आशावादी छु भने, माओवादीले अन्य दलहरुबाट सहयोग पायो र संविधानसभा तर्राईका उग्र मागहरुबाट प्रभावित भएन भने मुलुकमा अवश्य सकारात्मक परिवर्तन आउने छ ।

 

 

यस अन्तर्वार्ता प्रति कुनै क्रिया प्रतिक्रिया भए हामीलाई इमेल मार्फत उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध गर्दछौ । हाम्रो इमेल : info@enepalionline.com

 
Server Update Time: 03-08-08 | 12:00 AM - GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.