Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
MY VIEW
     
 
सामाजिक दायित्व र पेसागत कार्यबीच सामञ्जस्यता
(प्रवासी समाजसेवी र संघ-संस्थाहरूको परिपेक्ष्यमा एक बहस)
 
         
 

03-DEC-2009
enepalionline.com |MY VIEW|


सामाजिक दायित्व र पेसागत कार्यबीच सामञ्जस्यता
(प्रवासी समाजसेवी र संघ-संस्थाहरूको परिपेक्ष्यमा एक बहस)

1

- जाकिर हुसैन

यो लेख खाडीका प्रवासी नेपाली खास गरी यूनाइटेड अरब ईमिरेट्स् (यूएई) को सन्दर्भमा लेख्ने जमर्को गरिएको छ । यद्यपि यूएईका अतिरिक्त कतार, साउदी अबर, ओमान, बहराइन, कुवेत, लेबनान आदि मुलुकहरूको राजनैतिक तथा कानूनी प्रकृति उस्तै उस्तै रहेकोले यूएईका अतिरिक्त यी मुलुकहरूमा रोजगारमा रही सामाजिक क्षेत्रमा कार्य गर्ने नेपालीहरू पनि यस छलफलको एउटा अंश हुन सक्दछ भन्ने लाग्दछ ।

 

समाजसेवाको आवश्यकता

एउटा घरभित्र पनि मान्छेलाई सेवा र सहयोग चाहिन्छ । परिवारभित्र, गाउँभित्र, शहर, जिल्ला र राष्ट्रभित्र समाजसेवाको आवश्यकता हुन्छ । त्यसरी नै प्रवासमा पनि समाजसेवाको झन् ठूलो आवश्यकता हुन्छ ।

यूएईमा यति बेला नेपाली जनसंख्या डेढ लाख नाघिसकेको अनुमान गरिन्छ । जहाँ कुनै समाज-समुदाय हुन्छ त्यहाँ समाजसेवा र समाजसेवीहरूको अनिवार्य आवश्यकता हुन्छ । यूएईमा १९९० ताका खाडी युद्धको दौरान प्रथमपटक नेपाली समाज भन्ने एउटा सामाजिक संस्था स्थापना भयो । त्यो संस्था गत वर्ष यूएईमा अन्य सामाजिक संघ-संस्थाहरूको पनि साझा संस्थाको रूपमा परिणत भयो ।

जनसंख्याको आनुपातिक वृद्धिसँगै समस्या र सम्भाव्यताहरूको समेत वृद्धि हुनु स्वभाविक प्रक्रिया हो । यूएइका नेपालीहरूमाझ दिनानुदिन समस्याहरू थपिंदै गएका छन् । ती समस्याहरू विभिन्न प्रकृतिका छन् - कानूनी, सामाजिक, र आर्थिक समस्याहरू । यहाँ रहेका नेपाली संघ-संस्थाहरू यस्ता समस्याहरूमा नेपालीहरूलाई सहयोग गर्ने गरेका छन् । त्यस्तै नेपाली दूतावासको स्थापनापछि यस्ता समस्याहरूको समाधान हुन सुगम भएको छ ।

 
   
"प्रवासमा बस्ने समाजसेवीहरू माथिका यिनै दुइटा काममा आफूसँग बचेको समयलाई केन्द्रित गर्दछन् । बुंदागत रूपमा भन्नुपर्दा (१) नेपालीहरूको समस्याहरूमा उनीहरूलाई सक्दो सहयोग गर्नु तथा उनीहरूमा जनचेतना जगाउनु (२) मुलुकको सांस्कृतिक तथा प्राकृतिक सम्पदाको पहिचान गराउनु तथा प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग टाढिन नदिनु ।"
   
 

नेपाली दूतावासमा नेपालीहरूको मृत्युका घटनाक्रम महिनैपिच्छे दर्ता भएको तथ्यांकले दर्शाउँछ । अलपत्र परेका, ढगिएका र शोषित महिलाहरूको घटनाको अनुपात कहिल्यै तल खस्केको छैन । म्यानपावर कम्पनीको हेलचेक्र्याइँ र दलालहरूको ढगीले अलपत्र परेका नेपालीहरूको व्यथा बारम्बार मिडियामा आइरहेका छन् । नेपाली चेलीहरू कोठीमा बेचिएका घटनाहरू झन् झन् दोहोरिएका छन् । नेपालीहरू दूर्घटनामा पर्नु, ड्रि्रेसन, आत्महत्याको शिकार हुनुजस्ता कुराहरू कैयौंपटक मिडियाले बाहिर ल्याएको छ । त्यस्तै यहाँका कम्पनी र मालिकहरूले उचित तलब तथा अन्य सुविधा नदिनु, समयमा तलब ज्याला नदिनु, विदा, उपदान आदि नदिनुजस्ता समस्याहरूमा नेपाली कामदारहरू पिल्सिएका हुन्छन् ।

प्रवासमा बसेर आफ्नो मुलुकको पहिचान दिलाउनु सम्पूर्ण नेपालीको कर्तव्य हो । कुनै पनि मुलुकको कुनै न कुनै विशिष्ट पहिचान हुन्छ । मुलुकको पहिचानको प्रसारले मुलुकको अर्थतन्त्रलाई सबल बनाउँछ । सगरमाथाको देश, शान्तिको अग्रदूत बुद्धको देश, आदर्श नारी सीता र जनकको देश, विश्वकै उच्च हिमाली श्रृंखलाहरूको देश, कला संस्कृति, भेषभूषा र भाषा साहित्यको बैविध्यताले भरिपूर्ण देश, प्राकृतिक सम्पदाको धरोहर आदि इत्यादिको पहिचानले नेपाको पर्यटन विकासमा टेवा पुर्‍याएर अर्थतन्त्रलाई माथि उकास्न सक्छ ।

प्रवासमा बस्ने समाजसेवीहरू माथिका यिनै दुइटा काममा आफूसँग बचेको समयलाई केन्द्रित गर्दछन् । बुंदागत रूपमा भन्नुपर्दा (१) नेपालीहरूको समस्याहरूमा उनीहरूलाई सक्दो सहयोग गर्नु तथा उनीहरूमा जनचेतना जगाउनु (२) मुलुकको सांस्कृतिक तथा प्राकृतिक सम्पदाको पहिचान गराउनु तथा प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग टाढिन नदिनु ।

यी कार्यहरू सुन्दा जति सजिलो लाग्छ, गर्दा उत्तिकै जटिल, खर्चिलो र जोखिमपूर्णसमेत छ । यूएइ र खाडीका अन्य राष्ट्रहरूको परिपेक्ष्यमा ८-१० घण्टा काम गरी बचेको समय समाजसेवामा लगाउने हो । कम्पनीको काम छाडेर समाजको सेवामा जाने अवस्था पनि रहँदैन । विदेशमा सवै जीविकोपार्जन गर्न आएका हुन् । त्यही नै सवैको प्राथमिकता अड्किएको छ । सामाजिक कार्य माध्यमिक वर्गमा पर्छ भन्ने कुरा सवैले बुझनु पर्दछ । कति कम्पनीले त आफ्ना कामदार वा स्टाफहरूलाई बाहृय कामहरू गर्न बन्देज पनि लगाएका हुन्छन् । बाहृय काम गर्नेहरूको दिमाग कम्पनीको कामबाट बिच्छिन्न हुन सक्छ भनेर कम्पनी व्यवस्थापनले यो सोच बनाएका हुन्छन् । त्यस्तै कानूनी रूपमा संगठित हुन यी मुलुकहरूमा पूर्ण बन्देज छ । यद्यपि खाने मुखलाई जुंगाले छेक्दैन, जसको रगतमा सामाजिक भावना हुन्छ, ऊ कुनै न कुनै रूपमा कुनै न कुनै बेला समाजसेवामा पुगिहाल्छ ।

हालमा आर्थिक मन्दी चलिरहेको बेला धेरै कम्पनीले आफ्ना कामदार र स्टाफमा कटौति गरिरहेको बेला सामाजिक कार्यहरूमा बढी संलग्न हुनु झन् चुनौतिपूर्ण बनेको छ । सानोतिनो कमजोरी थाहा पाउँदा पनि कम्पनीले कामबाट निकाल्न सक्ने सम्भावना बढी भएकोले सामाजिक कार्य र कम्पनीको कार्यबीच सामञ्जस्यता मिलाउनु आवश्यक हुन्छ । प्रत्येक सामाजिक कार्यकर्ताले आफ्नो नौकरीलाई टिकाउनु बुद्धिमत्तापूर्ण हुन्छ । यस्तो अवस्थामा संघ-संस्थाहरूले पनि आफ्ना कार्यकर्ताहरूको परिस्थितिलाई बुझ्नु जरुरी हुन्छ । फलानोले यो काम गरेन भन्दा पनि फलानोले त्यो किन गर्न सकेन र त्यसलाई कुन उपायले पूरा गर्न सकिन्छ भन्नेपटि्ट लाग्नु पर्दछ ।

 
"कार्यक्रममा चन्दा माग्ने आइपुग्छन् भने कहिले किताब, पत्रिका बेच्नेहरू किताब-पत्रिका सोझ्याउँदै टुप्लुक्कै अगाडि मुस्कुराउँछन् । कहिले कुनै चेलीलाई उद्धार गर्न सवैले सय-पचास दिनु पर्ने त; कहिले किड्नी फेल्यूर भएको व्यक्तिलाई उद्धार गर्न सय-पचास दिनु पर्ने । हजार दुइ हजार तलबमा काम गर्नेहरूले यो खर्च धानेर कसरी समाजसेवा गर्न सक्छ ? यस यथार्थलाई सवैले राम्ररी बुझ्नु जरुरी छ । "

जोशमा होश हराई काम नगरौं :

धेरैजसो सामाजिक कार्यकर्ताहरू अति भावूक हुन्छन् । उनीहरू कामको महत्ताको पहिचान र वर्गिकरण नगरीकनै हरेक इभेन्टमा पुग्ने प्रयास गर्छन् । आफूसँग समय छ भन्दैमा सवैतिर दगुरिहाल्नु समय सान्दर्भिक हुँदैन । अर्का साथीमार्फत् धेरै कार्यहरू गराउन सकिन्छ । तपाईं यो नभुल्नुहोस् कि तपाईंका आश्रतिहरू तपाईंले दुइ तारेखका दिन पैसा पठाउनुहुन्छ भनेर कुरेर बसेका छन् । तपाईंको तलब जति सवै बस भाडा, ट्याक्सी भाडा, पेट्रोल, संस्थाको सदस्यता शुःल्क, दान-सहयोग आदिमा नै सिध्याउनु भयो भने तपाईंको वचत कहाँबाट हुन्छ ? अगुवा सामाजिक कार्यकर्ताहरूलाई सवै संस्थाहरूले आ-आफ्ना कार्यक्रमहरूमा निम्त्याउँदछन् । र, हप्तैपिछच्छे कार्यक्रमहरू भइरहेका हुन्छन् । एउटा सामाजिक कार्यकर्ता शारजाहबाट दुबइ पुग्छ । बिहान निस्कँदा बेलुकी घर र्फकन्छ । दुवै समयको खाना होटलमा खानु पर्छ । अन्य साथीभाइलाई खुवाउनु पर्छ अनि कहिले कार्यक्रममा चन्दा माग्ने आइपुग्छन् भने कहिले किताब, पत्रिका बेच्नेहरू किताब-पत्रिका सोझ्याउँदै टुप्लुक्कै अगाडि मुस्कुराउँछन् । कहिले कुनै चेलीलाई उद्धार गर्न सवैले सय-पचास दिनु पर्ने त; कहिले किड्नी फेल्यूर भएको व्यक्तिलाई उद्धार गर्न सय-पचास दिनु पर्ने । यसरी तिनै सामाजिक कार्यकर्ताहरूले सवैतिर समय पनि दिनु पर्ने, चन्दा पनि दिनु पर्ने । किताब-पत्रिका आदि पनि किनिदिनु पर्ने । शारजाहबाट शुक्रबार दुबइ पुग्दा निश्चित रूपमा झण्डै एक सय दिरहम सिद्धिन्छ । अबुधाबीबाट दुबइ आउने वा शारजाह र दुबइबाट अबुधाबी जानेको त झन् बढी खर्च हुन्छ । हजार दुइ हजार तलबमा काम गर्नेहरूले यो खर्च धानेर कसरी समाजसेवा गर्न सक्छ ? यस यथार्थलाई सवैले राम्ररी बुझ्नु जरुरी छ । राम्रो आम्दानी हुनेहरूका लागि यो कुरा निर्रथक होला तर थोरै वेतनमा काम गर्नेहरूकालागि यो एक मननीय र बहसको विषय बन्न सक्छ । यस कुरामा सामञ्जस्यता ल्याउनकालागि सवैबाट उत्तिकै पहल हुनुपर्दछ र सवैमा समझदारी पनि हुनुपर्दछ । सामाजिक कार्यकर्ताहरूले भौगोलिक हिसाबमा कामको बाँडफाँड गर्नुपर्दछ । जेबलअलीमा कुनै समस्या छ भने नेशनलपेन्टमा बस्ने कार्यकर्तालाई किन दौडाउने ? दर्जनौ वटा संघ-संस्थाका कुनै न कुनै कार्यकर्ता जेबअलीमा हुनसक्छ । त्यसको खोजी गरी जेबलअलीको केस जेबलअलीमा बस्ने समाजसेवीलाई सुम्पने परम्परा बसाउनु पर्छ । संघ संस्थाबीच सामञ्जस्यता र नेपाली समाजलाई साझा संगठनको रूपमा रूपान्तरण गर्नुको औचित्य पनि यही हो ।

समाज र परिवारसँगको सामञ्जस्यता :

धेरै सामाजिक कार्यकर्ताहरूको परिवार पनि साथै बस्छन् । यस्ता कार्यकर्ताहरूलाई सामाजिक कार्यमा समय निकाल्न झन् हम्मे पर्छ । छुट्टीको दिन कार्यक्रमहरूमा जाने कि परिवारसँग बस्ने ? परिवारवालाहरूकालागि यो जटिल प्रश्न बन्छ । हरेक कार्यक्रममा परिवारका सदस्यहरूलाई लिएर जानु पनि सान्दर्भिक हुँदैन । परिवार भएकाहरूले प्रत्येक विदाका दिन परिवारलाई छोडेर कार्यक्रममा जानु कत्तिको युक्तिसंगत हो भन्ने कुरा स्वयं त्यो व्यक्ति र संघ- संस्थाहरूले पनि सोच्ने विषय हो । तर्सथ त्यस्ता सामाजिक कार्यकर्ताहरूले पारिवारिक माहौललाई पनि मध्यनजर गर्दै समाजसेवामा लाग्नु पर्दछ ।

महामहिम राजदूतको कार्यक्रमहरूमा उपस्थिति :

यूएइमा एउटा के नराम्रो चलन बसिसकेको छ भने प्रत्येक संस्थाले सानोभन्दा सानो कार्यक्रममा पनि महामहिम राजदूतलाई प्रमुख अतिथिमा निम्त्याउँछन् । सवै कार्यक्रममा महामहिमको उपस्थिति हुनु पर्दछ भन्ने कुनै आवश्यकता नै छैन । कुटनैतिक प्रमुखको आफ्नै व्यस्तता हुन्छ । थुप्रै कुटनैतिक नियोगहरू भएको ठाउँमा उनलाई महत्वपूर्ण निम्ताहरूमा पनि जानु आवश्यक हुन्छ । अर्को कुरा कार्यक्रमहरूमा विभिन्न किसिमका अभिव्यक्तिहरू आइरहेका हुन्छन् । त्यस्ता ठाउँहरूमा आम मानिस जस्तै राजदूतजस्तो गरिमामय ओहदाका व्यक्तित्वको उपस्थिति कहिलेकाहीँ आपत्तिजनकसमेत हुन सक्दछ । तर्सथ संघ-संस्थाहरूले राजदूतावासलाई के कस्ता प्रकृतिका कार्यक्रमहरूमा निम्त्याउनु पर्ने हो सोको सूझ आउनु जरुरी छ । राजदूतावासलाई आफ्नो मुख्य कार्यमै ध्यान केन्द्रित हुन दिनु पर्दछ । र, दूतावास परिवारले पनि कस्ता खाले कार्यक्रममा जानु नजानु भन्ने कुराको निर्क्यौल आफैंले पनि गर्नु पर्दछ ।

 
"यूएईमा नामकै फेहरिस्त हेर्ने हो भने पाँच दर्जनको हाराहारीमा सामाजिक संघ- संस्थाहरूको नाम बारम्बार पढ्न पाइन्छ । यद्यपि १० देखि १२ वटा संघ-संस्थाहरू सामाजिक कार्यको अग्र पङ्क्तिमा देखा परेको भने देखिन्छ । नेपाली समाजले छाता संगठनको भूमिका खेलेपछि अब धेरै संघ-संस्थाहरूले विभिन्न कार्यक्रम संयुक्त रूपमा गर्ने भन्ने आशा पलाएको थियो । तर, नेपाली समाज रूपान्तरण भएको एक वर्ष बितिसक्दा पनि कसैले यसबारे कुनै पहल गरेको देखिएको छैन । सवैको काम गराइको पारा पहिलेको जस्तै छ । "

कार्यक्रमको फेहरिस्त :

यूएईमा मुख्यतः यी कार्यक्रमहरू हुने गर्दछन्-

नयाँ वर्षको कार्यक्रम
विजयादशमी उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम
महिलाहरूले मनाउने तीज पर्वको सांस्कृतिक कार्यक्रम
ल्होछार
बुद्ध जयन्ति
ईदुल फित्र
विश्व आदिवासी जनजाति दिवस
भानुजयन्ति
देवकोटा जयन्ति
मोति जयन्ति आदि ।

यसका अतिरिक्त विभिन्न व्यक्ति वा समूहले पटक पटक नेपालबाट कलाकार झिकाई पेसागत रूपमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दछन् । त्यस्तै नेपालबाट कुनै विशिष्ट व्यक्तित्व आएको बेला उनीहरूको सम्मानमा विभिन्न अन्तरक्रियात्मक तथा भेटघाट कार्यक्रम हुने गरेको छ । त्यस्तै विभिन्न संघ- संस्थाले खेलकुदको आयोजना गराउने चलन छ । लुम्बिनी वेलफेयर सोसाइटीले रक्तदान कार्यक्रम पनि गराउने गरेको छ । त्यस्तै संघ- संस्थाहरूले पटकपटक अन्तरक्रिया कार्यक्रम गराउने गर्दछन् । साहित्यिक संस्थाहरूले पटक पटक कवि गोष्ठी, कविता वाचन प्रतियोगिता पनि आयोजना गरेका छन् । त्यस्तै पत्रकार महासंघले पत्रकारिता तालीम, अन्तरक्रियात्मक कार्यक्रम, वार्षिक कार्यक्रम र पत्रकार सम्मेलनहरूको आयोजना गर्ने गरेको छ । त्यस्तै धेरै संघ-संस्थाहरूले सांगठनिक अधिवेशनहरू गर्दै आएका छन् । केही राजनैतिक आस्थाका आधारमा खुलेका संस्थाहरूले कार्यकर्ता प्रशिक्षण तथा सांगठनिक अधिवेशनहरू गदै आएको देखिन्छ । यसका अतिरिक्त दूतावासले पनि पटक पटक विभिन्न सरकारी उत्सव मनाउनुका साथै अन्य कार्यक्रमहरू गर्दै आएको देखिन्छ ।

यस तवरमा वास्तमा एक वर्षमा कमसेकम एक सयवटाभन्दा बढी कार्यक्रम यूएईमा नेपालीहरूले आयोजना गर्दे आएका छन् । सवै कार्यक्रममा सामाजिक कार्यकर्ता पुग्नै पर्ने । गैह्र श्रमजीवी पत्रकारहरूलाई त झन् विपद् । गए पनि समस्या नगए पनि समस्या । एक दिनमा तीन वटा कार्यक्रमसम्म धाउनु पर्ने बाध्यता । शायद दूतावासले पनि यस्तै महसुस गर्दो हो ।

यूएईमा नामकै फेहरिस्त हेर्ने हो भने पाँच दर्जनको हाराहारीमा सामाजिक संघ- संस्थाहरूको नाम बारम्बार पढ्न पाइन्छ । पोहोर नेपाली समाजलाई साझा संगठनको रूपमा परिणत गर्दा २६ वटा संघ-संस्था त्यसको छातामुनि गाभिन पुगेका थिए । यद्यपि १० देखि १२ वटा संघ-संस्थाहरू सामाजिक कार्यको अग्र पङ्क्तिमा देखा परेको भने देखिन्छ । राष्ट्रिय स्तरको नाम दिइएको र राष्ट्रिय स्तरकै काम गर्ने संघ-संस्था, जातीय, क्षेत्रीय तथा अन्य प्रकृतिका संघ-संस्थाहरू यूएईमा अस्तित्वमा छन् । नेपाली समाजले छाता संगठनको भूमिका खेलेपछि अब धेरै संघ-संस्थाहरूले विभिन्न कार्यक्रम संयुक्त रूपमा गर्ने भन्ने आशा पलाएको थियो । तर, नेपाली समाज रूपान्तरण भएको एक वर्ष बितिसक्दा पनि कसैले यसबारे कुनै पहल गरेको देखिएको छैन । सवैको काम गराइको पारा पहिलेको जस्तै छ । नेपाली समाज छाता संगठनको रूपमा रूपान्तरण भएको अनुभूति जनमानसमा नाम मात्रको देखिएको छ । नेपाली समाज यसबारे संवेदनशील हुनु आवश्यक छ ।

 
"संघ-संस्थाहरूले कार्यक्रमलाई लामो नबनाई छोट्याउने प्रयास गर्नु पर्दछ । एउटा कार्यक्रममा प्रत्येक आगन्तुकलाई आसन ग्रहण गर्न एक एक गरी नाम पुकारिन्छ । त्यसपछि प्रत्येकलाई एक एक गरी स्टेजमा बेलाएर भानुभक्तको तस्वीरमा मार्ल्यापन गर्न पनि लगाइन्छ । यसले कार्यक्रमको आधा समय खाइदिन्छ । त्यति मात्र होइन समाजसेवी फलानो, कवि-साहित्यकार फलानो भनेर व्यक्ति विशेषलाई पनि आसन ग्रहण गराइन्छ । "
 

सामञ्जस्यता कसरी ल्याउने :

सामाजिक कार्यकर्ताहरूले पेसागत कार्य र सामाजिक कार्यहरूबीच सामञ्जस्ता स्थापना गर्नु अति आवश्यक छ । यसले सामाजिक संघ-संस्थाहरूलाई पनि सही दिशामा लान सक्दछ । थोरै तर स्तरीय कार्यक्रम गर्नु गराउनु अब आवश्यक भइसकेको छ । सवैले अरूको समयको ख्याल गर्नु पर्छ । धेरै समय हुनेले कम समय हुनेको अवस्थामाथि विचार गर्नु पर्दछ ।

यसका लागि सवभन्दा राम्रो उपाय भन्नु नै धेरै वटा संघ-संस्थाहरूले साझा रूपमा कार्यक्रमको आयोजना गर्नु हो । संघ-संस्थाहरूबीच सामञ्जस्यताको खाँचो छ । तीन वटा संस्थाले अलग अलग ल्होछार मनाउनुभन्दा एकै पटक तीनैले संयुक्त कार्यक्रम गर्नु कुनै पनि मानेमा जाति हो । नयाँ वर्षको कार्यक्रम, विजया दशमीको कार्यक्रम, तीजको कार्यक्रम आदि गर्न नेपाली समाजसँगै सवैले सहकार्य गर्दा उचित हुन्छ । यसले धेरैको समय बच्नेछ र नेपाल पठाउने पैसाको वचत पनि हुन सक्छ ।

देवकोटाजयन्ति, भानुजयन्ति, मोति जयन्ति आदि कार्यक्रम सवै साहित्यिक संघ-संस्थाले संगै गर्दा श्रेयष्कर र गुणस्तरीय हुन सक्छ वा एक अर्कासँग मिलेर एउटाले देवकोटाजयन्तिको आयोजना गर्दा अर्कोले भानुजयन्ति मनाउन सक्छ । यसले साहित्यप्रेमीहरूमा एकताभावको पनि सञ्चार हुन्छ र सवैलाई पायक पनि पर्छ ।

त्यस्तै संघ-संस्थाहरूले कार्यक्रमलाई लामो नबनाई छोट्याउने प्रयास गर्नु पर्दछ । जस्तै एउटा कार्यक्रममा प्रत्येक अतिथिलाई खागा ओढाइन्छ, ब्याज लगाइन्छ, आसन ग्रहण गर्न पनि लगाइन्छ अनि वक्ताको रूपमा स्टेजमा पनि बोलाइन्छ । कहिलेकाहिँ त ब्याज लाइदिनसमेत स्टेजमै बोलाइन्छ । अतिथि स्टेजमा आउनु, स्टेजबाट जानु, उद्घोषकले पटक पटक नाम पुकार्नु यी प्रक्रियाले कति समय खान्छ भन्ने कुरामा कसले विचार गर्ने ? त्यसपछि रिबन काट्नु, दीप प्रज्वलन गर्नु, मार्ल्यापन गर्नु आदि क्रियाले कत्ति मान्छेको समय बर्बाद भइरहेको हुन्छ भन्ने कुरा आयोजकले बुझ्नै पर्दछ । एउटा कार्यक्रममा प्रत्येक आगन्तुकलाई आसन ग्रहण गर्न एक एक गरी नाम पुकारिन्छ । त्यसपछि प्रत्येकलाई एक एक गरी स्टेजमा बेलाएर भानुभक्तको तस्वीरमा मार्ल्यापन गर्न पनि लगाइन्छ । यसले कार्यक्रमको आधा समय खाइदिन्छ । अनि आसन ग्रहण गराउने तरीका पनि विचित्रको । संघ-संस्थाका अध्यक्षलाई आसन ग्रहण गराइसकेपछि महासचिव, उपाध्यक्षलाई पनि आसन ग्रहण गराइनु पर्ने । प्रत्येक पत्रकारको नामै पुकारी आसनग्रहण गराइनु पर्ने । महामहिम राजदूतलाई प्रमुख अतिथि भनेर आसन ग्रहण गराइसकेपछि दूतावासकै अन्य कर्मचारीलाई पनि आतिथ्य ग्रहण गराउने चलन पनि विचित्रको । त्यति मात्र होइन समाजसेवी फलानो, कवि-साहित्यकार फलानो भनेर व्यक्ति विशेषलाई पनि आसन ग्रहण गराइन्छ । कहिँ नभएको चलन हाँडी गाँउमा । यो चलन यूएईका नेपाली संघ-संस्थाहरूमा कहाँबाट आएको हो कुन्नि । त्यस्तै उद्घोषकले प्रत्येक सम्बोधनपछि लामो भाषण छाट्नै पर्ने । यहाँ यी सवै कुरा कोट्याउनुको तात्पर्य यस्ता कुराहरूलाई रोक्नु र आफ्नो तथा अरूको समयको कदर गराउनु हो । खास गरी कार्यक्रम सञ्चालक र कार्यक्रमको सेड्युल बनाउनेहरूको हकमा यो कुरा अति महत्वपूर्ण छ ।

  "कार्यक्रममा दुई बजे बोलाइन्छ र कार्यक्रमको स्टेज नै चार बजेसम्म सजाउने कार्य भइरहेको हुन्छ । त्यसलाई नेपाली समयको नाम दिइन्छ । विदेशमा आएर पनि समयको मूल्य बुझ्न नसक्नेले देश वा समाजको विकासको जिम्मेवारी कसरी बहन गर्ने आफैंमा अनुत्तरित प्रश्न । अतिथिलाई तीन बजे बोलाएपछि पाँच बजे आउँछन् भन्ने आयोजकहरूको सोच कत्तिको तलको रहेछ भन्ने विषयमा उनीहरू कहिले गम्भीर हुने ? एउटा व्यक्तिलाई पर्खेर सय व्यक्तिको समय बर्बाद गर्नु हुँदैन भन्ने कहिले बुझ्ने यी सामाजिक कार्यकर्ताहरूले ?"  

त्यस्तै कार्यक्रममा दुई बजे बोलाइन्छ र कार्यक्रमको स्टेज नै चार बजेसम्म सजाउने कार्य भइरहेको हुन्छ । त्यसलाई नेपाली समयको नाम दिइन्छ । विदेशमा आएर पनि समयको मूल्य बुझ्न नसक्नेले देश वा समाजको विकासको जिम्मेवारी कसरी बहन गर्ने आफैंमा अनुत्तरित प्रश्न । अतिथिलाई तीन बजे बोलाएपछि पाँच बजे आउँछन् भन्ने आयोजकहरूको सोच कत्तिको तलको रहेछ भन्ने विषयमा उनीहरू कहिले गम्भीर हुने ? एउटा व्यक्तिलाई पर्खेर सय व्यक्तिको समय बर्बाद गर्नु हुँदैन भन्ने कहिले बुझ्ने यी सामाजिक कार्यकर्ताहरूले ?

कार्यक्रमका लागि एउटा निश्चित समयमा बोलाएपछि त्यही समयमा शुरु गर्ने परिपाटी बसाउनु पर्छ । कुनै पनि अतिथिलाई पर्खनु पर्ने परिपाटीलाई हतोत्साहित गर्नु पर्दछ । सञ्चालकले आसनग्रहण प्रक्रियालाई छोट्याउनु पर्दछ । अनि आसनग्रहणमा वरियताक्रमलाई कहिल्यै मिच्नु हुँदैन । यो समस्या पनि टडकारो रूपमा रहेको पाइएको छ । वरियताक्रममा कसलाई पहिले आसनग्रहण गराउने र कसलाई पहिले सम्बोधन गर्न दिने वा कसलाई नदिने भन्ने कुराको राम्रो हेक्का कार्यक्रम सञ्चालकलाई हुनै पर्दछ ।

त्यस्तै पटक पटक संघ-संस्थाहरूको कार्यक्रम जुधेका हुन्छन् । एक दिनमा तीन तीन ठाउँमा कार्यक्रम आयोजना भइरहेका हुन्छन् । एक व्यक्ति तीनैतिर जानु पर्ने बाध्यता पनि उत्ति नै । यसको पनि सामजस्ता हुनु आवश्यक छ । राम्रो संस्थाले जहिले पनि वाषिर्क कार्ययोजना बनाएको हुन्छ । त्यो कार्ययोजना सवै संस्थाले बनाउनु आवश्यक छ । सम्पूर्ण संघ-संस्थाहरूले आ-आफ्नो कार्यक्रमको वारि्षक कार्यतालिका तयार पारी एक अर्कालाई पठाएमा आपसी समझदारीमा सामञ्जस्यता मिलाउन सुगम हुन सक्छ । यस कार्यतालिकाले समान प्रकृतिका कार्यक्रम संगै गर्नसमेत बाटो सुझाउन सक्छ ।

यसरी कार्यक्रमहरूको संख्यामा कटौति गरेर सामाजिक कार्यकर्ताहरूको समयलाई बचाउन सक्ने उपायहरू हुँदाहुँदै यस बहसमा तपाईं पनि किन सामेलन नहुने त ? सामाजिक कार्यकर्ताहरूबीच क्षेत्रगत हिसाबमा कामको बाँडफाँड गरेर संघ-संस्थाहरूबीच समन्वय स्थापना गरेर सामाजिक कार्यलाई सरल किन नबनाउने त ? तपाईंले पनि सामञ्जस्ताको महसुस गर्नुभएको छ भने तपाईंकै संस्थामार्फत् यसलाई कार्यान्वयन गर्न अगाडि किन बढ्ने त ?

मलाई लाग्छ यो समस्या यूएईका नेपालीहरूको मात्र नभएर सम्पूर्ण प्रवासी नेपाली सामाजिक कार्यकर्ता र संघ-संस्थाहरूको हो । यस विषयमा एक पटक जाग्नु सवैको लागि आवश्यक छ ।


(लेखक पत्रकार महासंघ यूएइ सम्पर्क शाखाका अध्यक्ष हुन् ।)

Server Update Time: -02-12-2009 | 11 : 20 PM - GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.