Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
MY VIEW
     
 
जसरी बाघले पहिले कुकुर मार्छ !
 
         
 

23-DEC-2009
enepalionline.com |MY VIEW|


a

अनिल पाण्डे

हिंसक बाघ जब मानव बस्तीतिर प्रवेश गर्छ उसले सबैभन्दा पहिला कुकुरको शिकार गर्छ । किनभने कुकुर नै यस्तो जनाबर हो जो ज्यानको माया मारेर पनि आफ्नो मालिकको रक्षा गरिरहन्छ । मालिकप्रति र्सवाधिक बफादार जीवको खोजी गर्ने होभने र्सवाधिक लोकप्रिय कुकुर नै हुनेछ । कुकुरले आफ्नो शिकारमा बाधा पार्ने भएका कारण बाघले पहिलो आक्रमण उसमाथि गरेजस्तै एकीकृत नेकपा माओवादीले पत्रकारलाई गाँज्ने गरेको छ । किनभने पत्रकार जनताप्रति सदा बफादार रहेको हुन्छ ।

 
   
"धनुषाकी पत्रकार उमा सिंहमाथि भएको आक्रमण र अन्य पत्रकारमाथि भएको आक्रमण हेर्दा 'राजनीतिक उद्देश्यले गरिएको हत्या फरक हुन्छ' भनेर कसले कसरी स्वीकार गर्ने ? "
   
 

पछिल्लो पटक माओवादीको निर्मम आक्रमणको शिकार भएकी छन् पत्रकार टीका विष्ट । पत्रकार विष्टमाथि मात्र सांघातिक आक्रमण भएको भए यो संयोग हो कि भन्न सकिन्थ्यो । तर पत्रकारलाई माओवादीले आफ्नो भूमिगत कालदेखि नै खेदो खन्दै आएको हो । सिन्धुपाल्चोकका पत्रकार ज्ञानेन्द्र खड्का हुन् वा डोटीका डेकेन्द्र थापा वा पर्साका वीरेन्द्र साह, यी सबै यसरी मारिएका छन् कि उनीहरुमाथि भएको आक्रमणको प्रकृति हेर्दा आक्रमणकारी अत्यन्त क्रूर र निर्दयी देखिन्छ । टीका विष्टमाथि जसरी आक्रमण भएको छ, त्यसको प्रकृति पनि क्रूरताको पराकाष्टा नै लाग्छ । धारिलो हतियार प्रयोग गरेर मरी भन्ने लागेपछि भिरमा उनलाई फालिएको थियो ।

अर्को गम्भीर पक्ष के छ भने यस प्रकारको क्रूर आक्रमण त्यस राजनीतिक पार्टीका कार्यकर्ताबाट भएको छ जसले नेपालमा नौ महिना लामो शासन पनि चलाइसक्यो । धनुषाकी पत्रकार उमा सिंहमाथि भएको आक्रमण र अन्य पत्रकारमाथि भएको आक्रमण हेर्दा 'राजनीतिक उद्देश्यले गरिएको हत्या फरक हुन्छ' भनेर कसले कसरी स्वीकार गर्ने ? एक त कुनै पनि कारण देखाएर पत्रकार वा गैरपत्रकारमाथि आक्रमण गर्नु सरासर जघन्य अपराध हो, यस्तो कार्य कुनै पनि बहानामा स्वीकार्य हुँदैन, त्यस अतिरिक्त ज्यान मार्ने उद्योगलाई त घोर निन्दा गर्नैपर्छ । तर यी हत्याका उदाहरणहरु हेर्दा माओवादीले 'राजनीतिक उद्देश्यले भएको फरक हत्या' भनेर पानीमाथि ओभाने हुन मिल्दैन । हत्या फरक हुन सक्तैन- नाम जुनसुकै दिएपनि माओवादीबाट भएका यस्ता कार्य कुकृत्य हुन्, यसको जति निन्दा गरेपनि थोरै हुन्छ ।

 
"गएको मंसिर १३ गते रुकुममा आक्रमणकारीले उनीमाथि पाशविक आक्रमण गरे । अक्षरहरु लेख्ने हातका औंला पत्तीले चिर्ने र शरीरका विभिन्न भागमा आक्रमण गर्ने अपराधीको मानसिकता अनुमान गर्न सकिन्छ ।"

गएको मंसिर १३ गते रुकुममा आक्रमणकारीले उनीमाथि पाशविक आक्रमण गरे । अक्षरहरु लेख्ने हातका औंला पत्तीले चिर्ने र शरीरका विभिन्न भागमा आक्रमण गर्ने अपराधीको मानसिकता अनुमान गर्न सकिन्छ । कुनै विक्षिप्त र पशुवत चित्त भएको व्यक्तिले मात्र त्यो जघन्य कुकृत्य गर्नसक्छ ।

आक्रमणकारी आज पनि कतै स्वतन्त्र घुमिरहेको छ । प्रशासन यन्त्र निकम्मा भएको छ । खासगरी जब कुनै अपराध माओवादी पक्षबाट भएको हो भन्ने जानकारी सरकारले पाउँछ, तब त्यतातिर फर्केर हेर्न पनि चाहँदैन । यो नेपाल सरकारले श्री ५ को सरकारकै पालादेखि विरासतमा पाएको रोग हो । कति गैरमाओवादीले समेत अपराध गर्ने र फर्किंदा माओवाद जिन्दावाद भन्दै नारा लगाउने गरेको पनि इतिहास छ । माओवादीलाई दण्डहीनताको श्रीताज प्राप्त भएका कारण समाजमा यस प्रकारको प्रवृत्ति विकास भएको हो ।

 
"सुन्तली धामी नामकी महिला प्रहरीलाई उनका सहकर्मी पुरुष प्रहरीले सामूहिक बलात्कार गरेको समाचार बाहिर आयो । तीन जना प्रहरीलाई थुनामा पनि हालियो । तर महिना दिनपछि सरकारले 'सुन्तली नै खराव चरित्रकी महिला हो,' भनेर प्रहरीलाई मुक्त गरेको छ "

टीका विष्टमाथि आक्रमण गर्ने अपराधी आज पनि स्वतन्त्र घुमिरहेको छ- किनकि ऊ माओवादी हो । ज्ञानेन्द्र खड्कालाई भलिबलको पोलमा बाँधेर घाँटी रेटेर मारियो, त्यसको अपराधी पनि सार्वजनिक भएन- किनकि ऊ माओवादी थियो । पत्रकार डेकेन्द्र थापालाई गर्धनमा ग्रिनेड बाँधेर खाल्डोमा हालियो र विस्फोट गराइ मारियो । उनका शरीरका अंग-प्रत्यङ्ग जंगलभरि छरिन पुगे । तर अपराधी देखापरेन- किनकि ऊ माओवादी थियो । बारा र पर्साका पत्रकारहरुले गएको महिनामा मात्र वीरेन्द्र साहका हत्यारालाई समातेर प्रहरीमा बुझाए तर आँखा झिमिक्क गर्न नपाउँदै प्रहरीले सलाम ठोकेर उसलाई मुक्त गरिदियो । किनकि ऊ माओवादी थियो । माओवादीका लागि नेपालका कानुन मकैका खोस्टा हुन्- उसलाई कुनै नियमले छुन सक्तैन ।

त्यसो त हामी प्रहरी प्रशासनबाट अधिक अपेक्षा गर्न पनि सक्तैनौं । जहाँका प्रहरीहरु आफ्नै सहकर्मी महिलामाथि सामूहिक बलात्कार गर्न पछि पर्दैनन् र दण्डहीनताको ताज खोजेर बस्छन् भने उनीहरुले कानुन कार्यान्वयनमा योगदान देलान् भनेर कसरी विश्वास गर्ने ! सुन्तली धामी नामकी महिला प्रहरीलाई उनका सहकर्मी पुरुष प्रहरीले सामूहिक बलात्कार गरेको समाचार बाहिर आयो । तीन जना प्रहरीलाई थुनामा पनि हालियो । तर महिना दिनपछि सरकारले 'सुन्तली नै खराव चरित्रकी महिला हो,' भनेर प्रहरीलाई मुक्त गरेको छ । महिला अधिकारकर्मीहरुका तर्फबाट दबाबका कार्यक्रमहरु भैरहेका छन्, तर त्यो सशक्त नभएका कारण सार्थकता पाएको छैन ।

  "एउटा कुनै घटनालाई निष्कर्षमा पुर्‍याएर अपराधीलाई सजाय दिलाउन सकिए मात्र पछिल्ला दिनमा यस्ता घटना दोहोरिने छैनन् । कारबाही भए मात्र अपराधीको मनोबल गिर्ने सम्भावना रहन्छ ।"  

पत्रकार महासंघ तथा महिला अधिकारकर्मी संस्थाहरुले पत्रकार तथा महिलाहरुमाथि भएको यस प्रकारका आक्रमणहरुप्रति सशक्त दबाब दिन सकिरहेका छैनन् । काठमाडौं मोडेल अस्पतालबाट टीका विष्टलाई डिस्चार्ज गर्ने समयमा नेपाल पत्रकार महासंघका महासचिव पोषण केसीले 'सरकारको उपचार खर्च हामीलाई चाहिंदैन,' भनेर जुन अडान देखाए त्यसले मात्र दबाबको घनत्व पूरा भएन । उनले उपचार खर्च चाहिंदैन बरु दोषीलाई कारबाही गर भने, त्यसको सराहना गर्दै के कुरामा महासंघको पनि आलोचना गर्नैपर्ने भएको छ भने उसले सरकारसँग जहिले पनि कुरा उठाउने र निष्कर्षमा पुग्नुअघि नै सेलाउने प्रवृत्ति देखाएको छ । अन्य अधिकारकर्मी संस्थाहरुले पनि यही कमजोरी देखाइरहेका छन् ।

एउटा कुनै घटनालाई निष्कर्षमा पुर्‍याएर अपराधीलाई सजाय दिलाउन सकिए मात्र पछिल्ला दिनमा यस्ता घटना दोहोरिने छैनन् । कारबाही भए मात्र अपराधीको मनोबल गिर्ने सम्भावना रहन्छ । अन्यथा अपराधीको मनमा 'त्यत्रो प्रयास गरेर र त मलाई कसैले केही नाप्न सकेन' भन्ने हिम्मत पलाउने छ । यसले भोलिको नेपाललाई अझ बढी अशान्त बनाउने निश्चित छ । समाजको सुरक्षाका लागि 'वाच डग'हरु चाहिन्छन्, हिंसक बाघ होइन ।


(लेखक मदरल्याण्ड नेपाल क्यालिफोर्नीयाका अध्यक्ष हुन् ।)

Server Update Time: -23-12-2009 | 08 : 40 PM - GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.