Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
MY VIEW
     
 
नेपाली राजदूतावास, युएईको बारेमा मेरो अनुभव
 
 

20-January-2009
enepalionline.com |MY VIEW|

-------------------------------------------

युनाइटेड अरब इमिरेट्सको दुबईमा म विगत ६ वर्षदेखि रोजगारी गर्दै आएको र ऐक्यवद्धता मासिक , सहयात्रा द्वैमासिक लगायतका प्रकाशनहरुसँग आबद्ध रहेको छु। हालै नेपाली दूतावास अबुधावीका बारेमा पत्रपत्रिकामा प्रकाशित नकारात्मक समाचार पढेर आफूलाई रोक्न नसकी दुई शब्द लेख्ने जमर्को गर्दैछु।

 

यो ठाउँको एक बिडम्बना के छ भने यहाँ हरेक महिनाजसो नेपालीहरुको नयाँ - नयाँ संगठन खुलेको हुन्छ तर तीमध्ये जनाधार कम भएका केही व्यक्तिहरुले आफ्नो आवाज ' उँचा ' सुनाउने काम दूतावासलाई गाली गरेर शुरु गर्दछन्। अनि मात्र हामीलाई पनि थाहा हुन्छ – ' ए फलानो नामको संगठन पनि खुलेको रहेछ भनेर। ' फरक यत्ति हो कि कोही गल्ली चोकमा बसेर गाली गरेका भेटिन्छन भने कोही पहुँच हुनेहरु ठूलै पत्रपत्रिका तथा अनलाईन मिडियालाई समाउँछन्।

 
   
"ए फलानो नामको संगठन पनि खुलेको रहेछ भनेर। ' फरक यत्ति हो कि कोही गल्ली चोकमा बसेर गाली गरेका भेटिन्छन "
   
 

सार्वजनिकरुपमा महामहिमज्यूले पटक पटक सबैलाई राजदूतावासमा केहि अनियमितता भएको वा शंका लागेमा युएईमा रहेका सबै नेपालीहरुलाई आफूलाई जानकारी गराउन आह्वान गर्दै गरेकोमा हाल यसरी अर्थहीन , प्रमाणविहीन र हचुवा किसिमले श्रोत नै नखुलाई राजदूतावासप्रति छापिएको समाचारले सम्पूर्ण नेपालीहरु तथा राजदूतावास  परिवारलाई मर्माहत गरेको छ । यस्तो किसिमको अनियमित भएको प्रमाण कसैले दिन सकेमा राजदूत स्वयं तथा मातहतका कर्मचारीहरुलाई कारबाही गर्न प्रतिबद्धता पटक पटक दोहर्याउँदै आउनु भएको छ।

लामो प्रयासपछि हालै मात्र युएईका नेपालीहरुको एक मात्र साझा संगठन बन्न सफल भएको ' नेपाली समाज ' ले २७ वटा संघ संस्थाहरुलाई आवद्ध गराएर एकीकृत कार्यकारिणी गठन गरेको छ। तर अहिले एकाएक चर्चामा आएको युएई - धरान समाज त्यसभित्र परेको देखिएन , शायद नयाँ खुलेकोले होला।

 

" अनियमित भएको प्रमाण कसैले दिन सकेमा राजदूत स्वयं तथा मातहतका कर्मचारीहरुलाई कारबाही गर्न प्रतिबद्धता "

अब प्रसंग बदलौं । हामीले बुझेसम्म अबुधावीस्थित राजदूतावासको काम कारबाही सामान्तया छिटो , छरितो र सरल खालकै हुने गर्दछ। कामको सिलसिलामा म व्यक्तिगत रुपमा पनि धेरै पटक त्यहाँ पुगेको छु तर खुला र पारदर्शी ढंगले काम हुने भएकोले त्यस्तो कुनै अनियमितता भएको देखेको छैन। हामीसँगै काम गर्ने बंगाली , भारतीय , पाकिस्तानी आदि कामदारहरु नेपाल एम्बेसीबाट एकै दिनमा पासपोर्ट रिन्यू हुन्छ भन्ने सुन्दा छक्क पर्दछन्। उनीहरुको दूतावासमा कम्तिमा एकहप्ता र बढीमा ४५ दिनसम्म कुर्नुपर्दो रहेछ। हामीलाई केही समस्या पर्दा दूतावासमा सबै कर्मचारीहरुसँग सजिलै सम्पर्क र भेटघाट गर्न सकिन्छ। यहाँसम्म कि राजदूतसँग पनि सोझै गएर भेट्न सकिन्छ। यो सुविधा पनि उनीहरुको लागि आकाशको फल सरह रहेछ। यसमा हामी नेपालीले गर्व नै गर्न सक्नु पर्दछ , चित्त सानो पार्नुपर्ने कुरै छैन।

 
" उनीहरुको दूतावासमा कम्तिमा एकहप्ता र बढीमा ४५ दिनसम्म कुर्नुपर्दो रहेछ। हामीलाई केही समस्या पर्दा दूतावासमा सबै कर्मचारीहरुसँग सजिलै सम्पर्क र भेटघाट गर्न सकिन्छ। "

सेवा लिने जनसंख्या धेरै तर स्टाफ कम भएको अवस्थामा सँधै भनेजस्तो नहुन सक्छ , बेला बखत कुनै मानवीय कमजोरी वा त्रुटी पनि नहोला भन्न सकिन्न। तर त्यसको समाधान त सँगै बसेर पो खोज्नु पर्दछ , एकै पटक पत्रपत्रिकामा गएर गाली बेइज्जती गर्नुलाई कुनै हालतमा पनि उचित मान्न सकिन्न। सँधै सबै कुरामा नराम्रो मात्र देख्ने केही नकारात्मक र सन्काहा प्रवृत्तिका मान्छेहरुले गर्दा नेपाली - नेपालीबीच फूट र झैझगडा भईरहने गरेको दु : खद् पक्ष एकातिर छ भने अर्कोतिर हरेक राम्रा नराम्रा कुरामा दूतावासलाई विवादमा ल्याउने काम गरेर आ - आफ्ना चारित्रिक कमजोरीहरुलाई ढाकछोप गर्ने काम हुनु सर्वथा निन्दनीय छ। यसले हामी नेपालीलाई नै लज्जास्पद अवस्थामा पुर्याएको छ।

 

दूतावासका प्राय : सबै कूटनीतिक र गैरकूटनीतिक कर्मचारीहरुलाई म राम्ररी चिन्दछु। तीमध्ये केहीले मसँग साह्रै निराशा प्रकट गर्दै नेपालीहरु जति काम गरे पनि जश नदिने ' बैगुनी जात ' भएको र यहाँ आएकोमा पश्चाताप लागेको बताए। सुनेर मलाई पनि ज्यादै खल्लो लाग्यो। म उहाँहरुलाई हिम्मत नहार्न सल्लाह दिन्छु। एक दुई जनाले जथाभावी बोले भन्दैमा अधिकाँश नेपालीको त्यसमा सहमति छ भन्ने अर्थ लगाउनु हुन्न। जुनसुकै समाजमा पनि भाँडभैलोमा रमाउने एक वर्ग सँधै विद्यमान रहेको हुन्छ तर त्यसको पर्वाह गर्नुहुँदैन। मूल प्रवाहको के धारणा छ त्यो नै महत्वपूर्ण हुन आउँछ !

 
" सात समुद्रपारी विदेशमा बसेर एक आपसमा खुट्टा तान्ने , चरित्र हत्या गर्ने काम गरेर जगहँसाई नगरौं ,"
 

 

अन्त्यमा , म युएईमा बसोबास गर्ने सबै नेपालीहरुलाई आह्वान गर्दछु कि सात समुद्रपारी विदेशमा बसेर एक आपसमा खुट्टा तान्ने , चरित्र हत्या गर्ने काम गरेर जगहँसाई नगरौं , नेपालीहरु कहिल्यै मिलेर बस्न सक्दैनन् भन्ने नकारात्मक सन्देश नदिउँ। आफ्ना बीचका मनमुटाव , समस्या र गुनासा केही भए सँगै बसेर समाधान गरौं। यस्तो सँस्कृतिको विकास गर्न सके यो हाम्रो मातृभूमिको लागि पनि एक उदाहरण र सन्देश बन्न जानेछ।

 

शेषनारायण झा , रौतहट , नेपाल

हाल दुबई , यूएई

कार्यकारी सम्पादक - सहयात्रा द्वैमासिक

विज्ञापन प्रबन्धक – ऐक्यबद्धता मासिक

केन्द्रीय सदस्य – नेपाल पत्रकार महासंघ , सम्पर्क शाखा , यूएई

उपाध्यक्ष – नेपाली साहित्य तथा साँस्कृतिक परिषद् , यूएई

Server Update Time: 20-01-09 | 06: 00 PM - GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.