Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
MY VIEW
     
 
पत्रकारको आचारसंहिता : प्रवासी नेपाली पत्रकारहरूको सन्दर्भमा
 
         
 

02-OCT-2009
enepalionline.com |MY VIEW|


पत्रकारको आचारसंहिता : प्रवासी नेपाली पत्रकारहरूको सन्दर्भमा

ZAKIR

- जाकिर हुसैन


पत्रकारले केही लेख्दाखेरि धेरै होश पुर्‍याएर लेख्नुपर्दछ । मनमा जे लाग्यो त्यही मात्र लेख्नु पत्रकारिता होइन न कसैले केही भन्ने बित्तिकै त्यसैलाई सही मानेर सूचना प्रवाह गर्नु पत्रकारिता हो । पत्रकारिता सत्यतथ्य सूचना, प्रभावकारी विचार, दूरगामी सोच, निष्पक्ष प्रस्तुतिकरण र जिम्मेवारपूर्ण अभिव्यक्तिको सम्मिश्रण हो । पत्रकारले जहिले पनि आफ्नो लेखन र प्रस्तुतिकरणलाई उत्तरदायीपूर्ण बनाउनु पर्दछ । पत्रकारले पत्रकारिताको धर्म कहिल्यै बिर्सनु हुँदैन । ऊ समाजको सच्चा र निष्पक्ष सिपाही हो जसको कलमले मुलुकको आमुल परिवर्तन गराउन सक्छ । विश्वमा नै पत्रकारिता पेसालाई मर्यादित दृष्टिकोणले हेर्ने चलन छ । यद्यपि विश्वमा पितपत्रकारिताको विकास भएपछि पत्रकारहरुको छविमा पनि आँच आउने सम्भावनाले पत्रकारको आचारसंहिता झन् चर्चामा आएको हो । विश्वका धेरै मुलुकमा पत्रकार आचार संहिता बनाई लागू गरिएकोछ । ठूला ठूला न्यूज एजेन्सी सञ्चार माध्यमले आफ्नै संहिता बनाएको हुन्छ जसको दायरामा रहेर पत्रकारहरूले रिपोटिग, प्रकाशन र प्रसारण गर्दछन् ।

 

 
   
"मेरा अनन्य मित्र पत्रकार जेपी सापकोटाले एउटा लेखमार्फ् नेपाली समाजको निर्वाचनबारे केही विचारहरू नेपाल दुबइ डटकममा प्रकाशन गर्नुभयो । त्यस लेखमा विभिन्न बुदागत कुराहरूमा उहाँको विचार आएको थियो । त्यो विचार कसैकोलागि गलत कसैको लागि ठीक हुन सक्दछ । केही कुरामा मेरो सहमति थियो र एक पत्रकारको हैसियतले मैले उहाँका केही विचारहरूसित बिमति जनाउँदै आफ्ना विचारहरू समेटेर एउटा लेख प्रकाशित गराएँ । यस लेखको प्रकाशनसँगै जेपी जी र ममा फुट पैदा भयो भन्ने कुरा बाहिर गयो । मान्छेहरूले लेखकीय स्वतन्त्रतालाई बिर्सेर हामीलाई प्रतिद्वन्द्वीको रूपमा देखे । यहाँसम्म कि पत्रकार महासंघभित्र फाटो भयो भन्नेसम्मको विचार मान्छेहरूले पोखे । केही पत्रकार मित्रहरूले पनि यस किसिमका अभिव्यक्ति जाहेर गरे जबकि हामी दुवैवीच कुनै आपसी मनमुटाव पटक्कै छैन र हामी दुवै ती विचारहरू सुनेर मुस्कुराइ मात्र रहृयौं । यो भनेको वैचारिक लडाइ हो भन्ने संस्कार जबसम्म पाठकमा विकसित हुँदैन तबसम्म यो समस्या रहन्छ ।
"
   
 

नेपालमा पत्रकारिताको व्यवासायीकरण भएको धेरै लामो अवधि भइनसकेको अवस्थामा यसले विकसित गरेको पत्रकार आचारसंहिता पनि धेरै पुरानो छैन । यद्यपि नेपाल प्रेस काउन्सिलले पत्रकारहरूलाई आफ्नो उत्तरदायित्व बहन गर्दे पत्रकारिता पेसालाई अंगाल्न आचारसंहिताको निर्माण गरी लागू गरेकोछ । पत्रकार आचार संहिता २०६० लाई संशोधन गरी २०६४ मा पूनर्लेखन गरी लागू गरिएकोछ । यसै आचारसंहितालाई मान्दै नेपाली पत्रकारहरूले आफ्नो पेसालाई मर्यादित तुल्याउने प्रयास गरेकाछन् र सूचना विभाग, प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघजस्ता संस्थाहरूले पत्रकारहरूलाई संरक्षण, सम्बर्द्धनका साथै उनीहरूको कार्यमा निगरानी गर्ने भूमिकासमेत निर्वाह गरेकाछन् ।

पत्रकारको आचार संहिता प्रत्येक नेपाली पत्रकारको लागि अति महत्वपूर्ण हुन्छ र पत्रकार तथा प्रकाशकहरूले यसका अक्षर अक्षरलाई आत्मसात गर्नु पर्दछ अनि मात्र पत्रकारिता पेसा झन् व्यावसायिक तथा उत्तरदायीपूर्ण हुन सक्दछ । विदेशमा रहेर अन्य पेसामा लागेका नेपाली पत्रकारहरूले पनि कुनै न कुनै रूपमा नेपाली पत्रकारितासँग जोडिएर काम गरेको अवस्थामा विदेशस्थित नेपाली पत्रकाहरूको लागि यो आचार संहिता झन् महत्वपूर्ण हुन जान्छ । यूएइको सन्दर्भमा भन्दाखेरि यहाँका नेपाली पत्रपत्रिकाहरू यहाँको कुनै निकायमा दर्ता भएका छैनन् । कुनै नेपालमा दर्ता भएका छन् भने कुनै कतै पनि दर्ता भएका छैनन् । यस स्थितिमा पत्रकारको आचार संहिताका धेरै बुंदाहरूलाई यहाँ लागू गर्न नै सकिंदैन; जस्तै प्रेस काउन्सिलले लागू गरेको आचार संहिताको धारा एकमा "विचार र अभिव्यक्ति स्वतन्त्रता नागरिकहरूको आधारभूत अधिकार भएकाले यसको संरक्षण र सम्वर्द्धनका निम्ति सदैव पत्रकार तथा सञ्चारमाध्यमहरू दृढ, सजग र सतर्क रहनुपर्दछ"  भनिएको छ । नेपालको सन्दर्भमा यहाँका पत्रकारहरूले पनि आफ्ना लेखनको माध्यमले यसलाई प्रयोग गर्न सक्ला तर यूएइको परिपेक्ष्यमा भने उसको कलम चल्न सक्दैन ।

तर केही कुरा हामीले संसारको जुनसुकै मुलुकमा बसेर पत्रकारिता गरे पनि सजिलै लागू गर्न सकिन्छ; जस्तै आचार संहिताको धारा दुइमा भनिएकोछ - "मानवीयता, मानवअधिकार र अन्तर्राष्ट्रिय सम्बन्धको सम्मानः मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय लिखतहरूले प्रत्याभूत गरेका हक, अधिकार, सिद्धान्त, मान्यता र प्रचलनको सम्मान गर्दै लोकतन्त्र, न्याय, समानता, मानवीयता, शान्ति र अन्तर्राष्ट्रिय समझदारीको संरक्षण र सम्वर्द्धन तथा मित्र राष्ट्रहरूबीचको भाइचारालाई अभिवृद्धि गर्नुपर्दछ |" यो कुरा पत्रकारको कलम जहाँ चले पनि सजिलै लागू गर्न सकिन्छ ।

प्रवासमा बस्ने नेपाली पत्रकारहरूले सुनेको भरमा समेत समाचार तयार पारेका कैयौं उदाहरणहरू छन् जबकि आचार संहिताले स्पष्ट ब्याख्या गरेकोछ  -  पत्रकार तथा संचारमाध्यमले कुनै समाचार प्रकाशन तथा प्रसारण गर्दा स्रोत र आधार उल्लेख गरी सत्य-तथ्य, वस्तुनिष्ठ एवं सन्तुलित सूचना सम्प्रेषण गर्नेतर्फसजग हुनु पर्दछ | सुनेको भरमा सत्य-तथ्य र वस्तुनिष्ठ समाचार तयार पार्न सकिंदैन ।

विदेशमा धेरैजसो नेपाली संघ-संस्थाहरूले पत्रपत्रिकाहरू प्रकाशन गर्दैआएकाछन् । ती संस्थाहरूका नेतृत्वले अलिअलि टाइप गर्न जानेका व्यक्तिहरूलाई प्रधान सम्पादक, प्रबन्ध सम्पादक तथा अतिथि सम्पादकजस्ता आकर्षक शब्द भिराइ सम्पादक बनाइदिन्छन् । उनीहरूबाट जे मनमा लाग्यो त्यो लेख्न लगाउँछन् । कहिलेकाहिँ त राम्रै सम्पादन क्षमता भएका पत्रकारहरू पनि आफ्नो सम्पादकीय स्वतन्त्रतालाई बिर्सेर उनीहरूको लहैलहैमा उनीहरूले भने बमोजिमका बखान छाप्न बाध्य हुन्छन् । वास्तवमा सञ्चारमाध्यमहरूबाट उत्पादित, प्रकाशित वा प्रसारित समाचारहरूको उत्पादन तथा सम्प्रेषणको अन्तिम जिम्मेवारी र अधिकार सम्पादकमा निहित हुनुपर्छ । त्यसैले ऊ सम्पादक हो ।

लहै लहैमा लागेर पत्रकार बन्नु धेरै हानिकारक सावित हुन्छ । हावादारीमा पत्रकारिता गर्ने पत्रकारहरूले गोपनियताको हकजस्ता कुराहरूसँग सरोकार राख्दैनन् जबकि पत्रकार आचार संहिता अनुसार सञ्चार माध्ययम तथा पत्रकारहरूले कुनै पनि समाचार प्रकाशन तथा प्रसारण गर्दा गोपनीयताको खयाल गर्नुपर्ने हुन्छ । सार्वजनिक हितमा प्रतिकूल असर पार्ने बाहेकको अवस्थामा वैयक्तिक एवं व्यावसायिक गोपनीयताको सम्मान गर्नुपर्दछ ।

 
"हस्त लिखित उक्त कृते प्रेस विज्ञप्ती हेर्नासाथ जोकोहीले पनि कृते हो भन्ने चाल पाउँछ । तर, डीसी नेपालले चाल पाएन र उक्त प्रेस विज्ञप्ती जस्ताको त्यस्तै प्रकाशन गरेर अबुधाबीको दूतावास हल्लायो । वर्षौंको जागीरे जीवनको इज्जत पलभरमा समाप्त । मलाई साउदी अरबको एउटा एनआरएन लीडरले भन्नुभयो , "तपाईंहरूको राजदूत भ्रष्टाचारी रहेछन् ।" मैले उनलाई स्पष्टिकरण त दिएँ तर त्यो समाचार पढेका हजारौं जनमानसमा जुन नकारात्मक सोच बस्यो त्यसको क्षतिपूर्ति कसले दिने ? बडो मज्जाले मिडियाले माफी माग्यो; सक्यो । दूतावासका पियनले पनि आफ्नो गल्ती स्वीकार गर्दै जनअदालतमा लिखित माफी माग्यो सिद्धियो ।
"

 

पत्रकारिता एक व्यावसायिक क्रियाकलाप हो । यसलाई व्यावसायिक नै बनाउनु पर्दछ । बरु जवाफदेहिता, उत्तरदायित्व र विश्वसनीयताको निर्वाह गर्न निष्ठापूर्वक उच्च व्यावसायिक अभ्यास हुनुपर्दछ । पत्रकारको व्यवहार बिलकुल शिष्ट हुनुपर्छ । उनीहरूले मर्यादित भाषाको प्रयोग गर्नुपर्दछ । व्यावसायिक अभ्यासमा सामाजिक शिष्टताको सम्मान गर्दै नैतिक, शिष्ट एवं मर्यादित कार्यशैली र भाषाको प्रयोगमा सजग रहनुपर्दछ । पत्रकारमा गल्ती सच्याउने तत्परता आवश्यक छ । प्रकाशन तथा प्रसारणका क्रममा भएका त्रुटि एवं गल्तीको जानकारी हुनासाथ यथाशीघ्र त्यस्तो गल्ती एवं त्रुटि सच्याउने तथा सप्रमाण खण्डन वा प्रतिक्रिया आएमा प्रस्ट भाषामा उचित स्थान दिई प्रकाशन वा प्रसारण गर्नु पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य हुन्छ । पत्रकारले आफ्नो गल्ती स्वीकार गरे उसको लोकप्रियता गुम्दैन बरु विश्वसनीयता बढेर जान्छ । यो कुराको हेक्का प्रवासबाट पत्रकारिता गर्ने पत्रकारहरूमा एकदमै कम छ ।

पत्रकारहरूले संवेदनशील विषयमा लेख्दाखेरि एकदमै सावधानीपूर्वक शब्द तथा आशयको प्रयोग गर्नुपर्दछ । कुनै कुनै शब्दले डढेलोझैं समाजमा दंगा भड्काउन सक्दछ वा कसैको व्यक्तित्व वा पदीय मर्यादामाथि आँच आउन सक्दछ । यूएइ र अमेरिकाबाट पत्रकारिता गर्ने मिडियाहरूको हकमा यो बारम्बार दोहोरिएको छ । छद्मभेषी नाममा एउटा व्यक्तिको चरित्र हत्या गरी लेखिएको लेख कुनै सोधपूछ नै नगरी प्रकाशित भएका छन् र बारम्बार पीडित पक्षलाई लिखित माफी मागेका छन् । यसले पत्रकारिताको विश्वसनीयता गुम्छ । झन् कति पत्रकारले त कपोलकल्पित ढंगले लेखिएका त्यस्ता लेखलाई पत्रिकाले माफी मागिसक्दा पनि इमेलको माध्यमले संसारभरि फैलाइदिएका छन् । त्यसले एउटा व्यक्तिको चरित्रलाई कति असर गर्दछ भन्ने कुरामा पत्रकार कहिले संवेदनशील हुने ?

पत्रकार तथा मिडिया हाउसले पक्षपातपूर्ण व्यवहार गर्नु हुँदैन । आफूले मन परेको व्यक्तिको विरोध लेख्न नसक्ने पत्रकारले पत्रकारिता गर्न सक्दैन । आफ्नै विरुद्धमा पनि विचार आउन सक्छ र त्यो पचाउन सक्नु पर्दछ । प्रकाशन गर्न सक्नु पर्दछ । प्रवासी अनलाइन मिडियाहरूमा यो कम्जोरी धेरै देखिएका छन् । पत्रकारहरू गुपउपगुटमा बाँडिएर यस्तो भएको हो । पत्रकारको कलम स्वतन्त्र र उसमा लेखकीय स्वतन्त्रताको सम्मानको आभास हुनु अत्यावश्यक छ ।

पत्रकार, सञ्चारमाध्यम तथा सञ्चार संस्थाहरूले धेरै कार्यहरू यस्ता छन् जुन गर्नु हुँदैन । जस्तै- नेपाल बहुभाषिक, बहुधार्मिक र बहुजातीय मुलुक भएकोले यसको सार्वभौमसत्ता, अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायहरूका बीचको सु-सम्बन्धमा खलल पार्ने वा गाली-बेइज्जती वा अदालतको अवहेलना हुने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने समाचार र विचार प्रकाशन, प्रसारण तथा उत्पादन-वितरण गर्नु हुँदैन । धर्म, जाति तथा अन्य समुदायलाई असर पार्ने खालका समाचारहरू उत्पादन गर्नु हुदैन ।

सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पुर्‍याउने तथा व्यावसायिक मर्यादा विपरीत हुने विकृत र उत्तेजक सामग्री प्रकाशन-प्रसारण तथा उत्पादन-वितरण गर्नु हुँदैन भन्ने कुराहरू पत्रकार आचार संहिताभित्र पर्दछन् ।

समाचार श्रोत खुलाएर मात्र प्रकाशन हुनुपदर्छ तर कहिलकाहीँ श्रोतलाई गोप्य राख्ने गरी पनि समाचार संकलन गरिएको हुन्छ । त्यस अवस्थामा गोप्य स्रोतको संरक्षण गर्ने दायित्व पत्रकारको हुन्छ । त्यस्तो स्रोतको इच्छा र अनुमतिबेगर त्यस्ता गोप्य स्रोतको नाम वा पहिचान खुलाउनु हुँदैन । खोजमुलक पत्रकारितामा यस्तो गोप्य श्रोतको धेरै प्रयोग हुन्छ ।

जातीय, लैङ्गकि, धार्मिक, क्षेत्रीय, भाषिक र रंगजस्ता आधारमा भेदभाव हुने गरी समाचार र विचारको सम्प्रेषण गर्नु हुँदैन । पत्रकारले सन्तुलित वा स्वतन्त्र विचार राख्नुपर्दछ । त्यस्तै पीडितलाई थप पीडा पुग्ने गरी भाषा, ध्वनि, तस्वीर, चित्र र दृश्यको प्रयोग गरी समाचार तथा विचार प्रकाशन- प्रसारण वा उत्पादन-वितरण गर्नु हुँदैन । त्यस्तै यौनजन्य अपराध र सामाजिक अबहेलना एवं घृणाजन्य घटना वा सन्दर्भमा पीडित व्यक्तिहरूको सचेत स्वीकृतिबिना नाम, ठेगाना र पहिचान खुल्ने गरी समाचार, तस्वीर र दृश्य प्रकाशन-प्रसारण वा उत्पादन-वितरण गर्नु हुँदैन । त्यस्तै पत्रकारले विध्वंस, हिंसा, आतंक र अपराधलाई प्रोत्साहन हुने गरी तथा त्यस्ता क्रियाकलापलाई अतिरञ्जित गर्ने गरी समाचार, विचार, तस्वीर, मतसर्वेक्षण, ध्वनि वा दृश्यहरू प्रस्तुत गर्नु हुँदैन । त्यस्तै समाजमा नैराश्य, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका नग्न, क्षतविक्षत र बीभत्स दृश्य एवम् तस्वीरहरू असान्दर्भिक, अश्लील र उत्तेजना फैलिन सक्ने प्रकारले प्रस्तुत गर्नु हुँदैन ।

पत्रकारले कुनै घटनासँग सम्बन्धित समाचार प्रकाशन-प्रसारण गर्दा घटनासँग सम्बन्ध नभएका नातेदार वा नजिकका व्यक्तिको नाम जोडी उसको मर्यादामा आँच पुग्ने वा चरित्रहत्या हुने गरी समाचार सामग्री प्रस्तुत गर्नु हुँदैन । जस्तै फलानाको पुत्र वा पिता फलानाले फलानालाई बलात्कार गरी फरार भएको छ भनेर लेख्नु हुँदैन । कुनै टिप्पणी वा स्पष्टता बिना तस्वीर, भिडियो दृश्य, ध्वनि वा तथ्यलाई तोडमोड गरी पहिचान नै बदल्ने वा गलत पहिचान दिने वा गलत अर्थ लाग्ने गरी समाचार सामग्री प्रकाशन-प्रसारण वा उत्पादन- वितरण गर्नु हुँदैन ।

त्यस्तै विज्ञापनलाई समाचारको रूपमा प्रस्तुत गर्नु, विज्ञापनमार्फत् समाचारको खण्डन आदि गर्नु हुँदैन । एउटा सञ्चारमाध्यमबाट प्रकाशित प्रसारित समाचारको खण्डन सामान्यतः अर्को सञ्चारमाध्यमले गर्नु हुँदैन ।

प्रवासमा भइरहेको सवभन्दा हास्यास्पद अभ्यास भनेको प्रकाशित रचना पुनः अर्को माध्यममा प्रकाशन हुँदा पहिले प्रकाशित माध्यमको स्रोत उद्धृत नगर्नु हो । कुनै समाचार संस्था वा माध्यमले प्रवाहित गरेको समाचार वा प्रकाशित- प्रसारित सामग्री उपयोग गर्दा त्यसको मूल स्रोत उद्धृत नगरी पुनः प्रकाशन, प्रसारण वा वितरण गर्नु हुँदैन भन्ने कुरा प्रवासी पत्रकारहरूले राम्ररी बुझनु पर्दछ । प्रकाशित सामग्री त्यसरी उद्धृत गर्दा सामान्यतः मूल स्रोतको सहमति लिनु आवश्यक हुन्छ ।

यूएइको परिपेक्ष्यमा केही रमाइला र तिता सत्यहरू पनि छन् । यहाँको नेपाली पत्रकारिता बिलकुल तल्लो दर्जाबाट बल्ल माथि उठ्ने चाँजोपाँजोमा मात्र रहेकोछ भन्ने कुरा यहाँका पत्रकार र पाठक दुवैले बुझेको हुनुपर्दछ वा बुझ्नु जरुरी छ । यहाँ कसैले लेखेको लेखको एउटा विचारलाई आधार बनाएर सामाजिक बहिष्कारसम्म गरिएको उदाहरण हाम्रासामु छ । व्यक्तिको वैयक्तिक स्वतन्त्रतालाई कसैले हनन गर्नु हुँदैन भन्ने विश्वाव्यापी मान्यता बनिसकेको सन्दर्भमा कसैको चरित्रलाई आँच नआउनेसम्मको विरोध जनाउने लेखकीय स्वतन्त्रता पत्रकार वा लेखकलाई हुन्छ । उदाहरण मेरा अनन्य पत्रकार मित्र जेपी सापकोटाले एउटा लेखमार्फत् नेपाली समाजको निर्वाचनबारे केही विचारहरू नेपाल दुबइ डटकममा प्रकाशन गर्नुभयो । त्यस लेखमा विभिन्न बुंदागत कुराहरूमा उहाँको विचार आएको थियो । त्यो विचार कसैकोलागि गलत कसैको लागि ठीक हुन सक्दछ । केही कुरामा मेरो सहमति थियो र एक पत्रकारको हैसियतले मैले उहाँका केही विचारहरूसित बिमति जनाउँदै आफ्ना विचारहरू समेटेर एउटा लेख प्रकाशित गराएँ । यस लेखको प्रकाशनसँगै जेपी जी र ममा फुट पैदा भयो भन्ने कुरा बाहिर गयो । मान्छेहरूले लेखकीय स्वतन्त्रतालाई बिर्सेर हामीलाई प्रतिद्वन्द्वीको रूपमा देखे । यहाँसम्म कि पत्रकार महासंघभित्र फाटो भयो भन्ने सम्मको विचार मान्छेहरूले पोखे । केही पत्रकार मित्रहरूले पनि यस किसिमका अभिव्यक्ति जाहेर गरे जबकि हामी दुवैवीच कुनै आपसी मनमुटाव पटक्कै छैन र हामी दुवै ती विचारहरू सुनेर मुस्कुराइ मात्र रहृयौं । यो भनेको वैचारिक लडाइ हो भन्ने संस्कार जबसम्म पाठकमा विकसित हुँदैन तबसम्म यो समस्या रहन्छ । लेखकले आफ्नो विचार बाहिर ल्याउन कञ्जुस्याइँ गर्नु हुँदैन ।

 

 
"यूएइ र अमेरिकाबाट पत्रकारिता गर्ने मिडियाहरूको हकमा यो बारम्बार दोहोरिएको छ । छद्मभेषी नाममा एउटा व्यक्तिको चरित्र हत्या गरी लेखिएको लेख कुनै सोधपूछ नै नगरी प्रकाशित भएका छन् र बारम्बार पीडित पक्षलाई लिखित माफी मागेका छन् । यसले पत्रकारिताको विश्वसनीयता गुम्छ । झन् कति पत्रकारले त कपोलकल्पित ढंगले लेखिएका त्यस्ता लेखलाई पत्रिकाले माफी मागिसक्दा पनि इमेलको माध्यमले संसारभरि फैलाइदिएका छन् । त्यसले एउटा व्यक्तिको चरित्रलाई कति असर गर्दछ भन्ने कुरामा पत्रकार कहिले संवेदनशील हुने ?
"

प्रवासी पत्रकारिताको हकमा अनलाइन मिडियाहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । प्रायः अनलाइन मिडियाहरूले जसले जे लेखेर पठायो त्यही प्रकाशन गरिदिने प्रवृत्ति रहेको छ । यो प्रवृत्ति कहिले हट्ने ? सम्पादनको अर्थ यूनिकोडमा आउने सामान्य त्रुटिलाई मात्र हटाउनु भएको छ केही मिडियाहरूको हकमा । नेपाली राजदूतावास अबुधाबीका राजदूत अर्जुनबहादुर थापाको चरित्र हत्या हुने गरी उनैका पियनले कसैको प्रलोभनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएइ च्याप्टरको लेटरहेड चोरी गरी त्यसका सभापति बालचन्द्र पोख्रेलको कृते हस्ताक्षरसमेत गरी डीसी नेपाललाई महाभारत नै लेखी पठायो । हस्त लिखित उक्त कृते प्रेस विज्ञप्ती हेर्नासाथ जोकोहीले पनि कृते हो भन्ने चाल पाउँछ । तर, डीसी नेपालले चाल पाएन र उक्त प्रेस विज्ञप्ती जस्ताको त्यस्तै प्रकाशन गरेर अबुधाबीको दूतावास हल्लायो । वर्षौंको जागीरे जीवनको इज्जत पलभरमा समाप्त । मलाई साउदी अरबको एउटा एनआरएन लीडरले भन्नुभयो- तपाईंहरूको राजदूत भ्रष्टाचारी रहेछन् । मैले उनलाई स्पष्टिकरण त दिएँ तर त्यो समाचार पढेका हजारौं जनमानसमा जुन नकारात्मक सोच बस्यो त्यसको क्षतिपूर्ति कसले दिने ? बडो मज्जाले मिडियाले माफी माग्यो; सक्यो । दूतावासका पियनले पनि आफ्नो गल्ती स्वीकार गर्दै जनअदालतमा लिखित माफी माग्यो सिद्धियो । त्यही घटना फेरि दोहोरियो डीसी नेपाल र जनपुकार डटकममा । गत साता एनआरएनए आईसीसीका कोषाध्यक्षका उम्मेदवार रामेश्वर शाहको चरित्र हत्या हुने गरी कसैले इमेलमार्फत् लेख पठायो, दुवै मिडियाले प्रकाशन गरे । र, दुवैले आफ्नै सम्वाददाता भनी प्रकाशन गरे जबकि त्यो व्यक्ति छद्मभेषी लेखक रहेछ । दुवैमध्ये कसैका सम्वाददाता रहेनछ । फेरि दुवै पत्रिकाले माफ मागे सिद्धियो । तर, पीडितको चरित्रलाई जुन असर पार्‍यो त्यसको हर्जाना कसले बेहोर्ने ? त्यस्तो लेख्न पाइँदैन भन्ने पनि होइन । खोजमुलक पत्रकारितामा त्योभन्दा पनि गहिरा व्यक्तिगत कुराहरू आइरहेका छन् । तर, त्यसलाई एउटा जिम्मेवार पत्रकारले पुष्टि पनि गर्न सक्नु पर्छ । ऊसँग प्रमाण पनि हुनु पर्छ । यति अतिरञ्जित गरी लेखिएको लेखलाई सम्पादकले नपढी प्रकाशन गरिदिंदा प्रवासी पत्रकारितामाथि नै औंला ठडिने समय आइसकेको छ । प्रवासी पत्रकारहरूले यस कुरालाई बुझ्नु पर्‍यो । यी सवै कुरा आचारसंहितालाई आत्मसात नगरेर वा नबुझेर भएका हुन् ।

तर, सही सत्य लेख्न पत्रकार डराउनु पनि हुँदैन । भ्रष्टाचार, गुटबन्दी, गिरोहबन्दीले समाजलाई प्रतिकूल असर पार्दैछ भने त्यसको भण्डाफोर गर्नु पत्रकारको कर्तव्य हो । प्रवासमा यस्तो लेख्ने पत्रकारलाई सवैतिरबाट घेर्ने प्रयास पनि हुन्छ । पत्रकार त्यस षड्यन्त्रबाट बिचलित हुनु भएन । आचारसंहितालाई उल्लंघन नगरी पत्रकारिता गर्नुभयो भने अन्ततः तपाईंको बिरोधी पनि भित्रभित्रै तपाईंको सत्यता देखेर शर्माउँछ । म स्यवं यसको शिकार भएको छु । मेरो बारेमा कुनै बेला अनर्गल ढंगले कपोलकल्पित कुराहरू लेखिए । नभएका मिथ्या आरोपहरू अनलाइन मिडियाहरूमा आए । प्रतिशोधको भाषा जहिले पनि आवेशात्मक हुन्छ । सम्पादकले त्यो भाषा समात्न सक्नु पर्दछ । मलाई केही पत्रिकाहरूबार्टर् इमेल आयो । मैले उत्तर दिएँ प्रकाशन गर्नुहोस् । र, मैले स्वयं खण्डन पनि गरिन किनभने म स्वयं मिडियाको मान्छे भएकोले लेखकीय स्वतन्त्रताको नाममा त्यो आरोप पनि सहें । तर, आज त्यो सवैको सामू र्छलंग भइसकेको छ । सत्य के थियो सवैले बुझिसकेका छन् । कहिलेकाहिँ मौन धारणले पनि काम गर्छ ।

त्यस्तै पत्रपत्रिकाहरूले आफूले प्रकाशन गरेका कुनै पनि सामग्रीको विरुद्धमा सम्बन्धित पक्षले खण्डन पठाएको छ भने उचित स्थान दिई त्यो खण्डन प्रकाशित वा प्रसारित गर्नुपर्दछ । मर्का परेको व्यक्तिलाई चित्त नबुझेको खण्डमा सोही सञ्चार माध्यममार्फत् सटिक शब्दमा खण्डन गर्ने अधिकार हुन्छ । अथवा ऊ त्यसको विरुद्धमा सम्बन्धित निकायमा उजुरी पनि गर्न सक्दछ । यस्ता उजुरीहरू नेपालको सन्दर्भमा प्रेस काउन्सिल, पत्रकार महासंघ र अदालत आदिले लिने गर्दछन् । यूएइको सन्दर्भमा धेरै पटक यहाँका नेपाली मिडियाहरूमा समाचार तथा विचारहरू आउँदा पत्रकारहरूलाई धम्कीसमेत आएको परिपेक्ष्यमा एक त पत्रकारहरूले कुनै सामग्री सम्प्रेषण गर्दा विचार पुर्‍याउनु पर्दछ भने त्यस्ता व्यक्तिहरूले लगत्तै त्यसको खण्डन छपाएर आफ्नो सफाइ पेस गर्नु उपयुक्त ठहर्दछ । काम गर्ने क्रमका त्रुटिहरूलाई अन्यथा लिई संकीर्णतामा रहनुभन्दा खण्डन गर्नु श्रेष्यकर उपाय त हो नै ।

 


(लेखक पत्रकार महासंघ यूएइ सम्पर्क शाखाका अध्यक्ष हुन् ।)

     


Server Update Time: -02-10-2009 | 10 : 20 PM - GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.