| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
||||||
|
||||||
|
||||||
20-SEP-2009 नयाँ संविधान : कतिञ्जेलका लागि ?
दीपक गजुरेल नयाँ संबिधान निर्माण । अहिलेको पहिलो प्राथमिकता । राज्य सञ्चालनमा रहेका शक्तिहरुबीच सहमति तथा सहकार्यको आधारमा 'लोकतान्त्रिक गणतन्त्र' नेपालको संबिधान लेख्ने प्रक्रिया जारी छ । संबिधानमा अनिवार्य उल्लेख गरिनु पर्ने आधारभूत विषयहरुमा 'सहमति' भएको छैन । भोलिको नेपालमा कस्तो शासन प्रणाली हुने भन्ने विषयमा संबिधान निर्माणमा निर्णायक भूमिका हुनेहरुबीच सहमतिको छाँट अझै देखिएको छैन । संबिधान लेखिसकेर जारी गर्ने भनी तोकिएको अवधि अब धैरै बाँकी छैन । |
||||||
"चुनाव जितेर र मनोनित भएर संबिधान निर्माण गर्ने जिम्मेवारीमा पुगेकाहरुबीच नै आधारभूत मुद्दाहरुमा विपरित ध्रुवीय अडान कायम रहेको अहिलेको प्रवृतिले आगामी संबिधान राष्ट्रका लागि सर्वस्वीकार्य मूल कानून बन्ने कुरामा शंका बढ्दो छ । "
|
||||||
संबिधान लेख्ने क्रममा विवाद र असहमति देखिएको छ । प्रजातान्त्रिक मूल्य र मान्यता पाखा लाग्ने खतरा एक पक्षबाट औँल्याइँदैछ । अर्को पक्ष अधिनायकवादी चरित्रको मूल कानून बनाउन भरमग्दूर दवाव सिर्जना गर्दैछ । 'जसरी भए पनि संबिधान बनाइछाड्ने' अडान राख्नेहरुले नेपाली नागरिकलाई कस्तो संबिधान तयार पारेर दिने हुन् भन्ने अन्योल कायम छ । देशको मूल कानूनमा के लेख्ने भन्ने विषयमा असहमतिको टुँगो लाग्न नसक्नु एउटा पक्ष हो । त्यो भन्दा महत्वपूर्ण पक्ष संबिधान केका लागि, कस्का लागि र कतिञ्जेलका लागि बनाउने भन्ने देखिएको छ, यसबेला । चुनाव जितेर र मनोनित भएर संबिधान निर्माण गर्ने जिम्मेवारीमा पुगेकाहरुबीच नै आधारभूत मुद्दाहरुमा विपरित ध्रुवीय अडान कायम रहेको अहिलेको प्रवृतिले आगामी संबिधान राष्ट्रका लागि सर्वस्वीकार्य मूल कानून बन्ने कुरामा शंका बढ्दो छ । |
||||||
"संबिधान जारी भएको दुइ वर्ष नपुग्दै छ पटक संशोधन गरियो हालको संबिधान । राष्ट्रको डाडूपन्यू हातमा लिएकाहरुबीच 'सिर्जित' असहमतिलाई मिलाउन वा सन्तुष्ट पार्न यसरी संबिधान संशोधन गरिएको कटू अनुभव हामीसँग छ । "
|
||||||
अर्का थरी शक्तिहरु छन्, जसको वर्तमान संबिधान निर्माण र अहिले सत्ता सञ्चालनमा कुनै प्रकारको संलग्नता वा भूमिका थिएन, छैन । सशस्त्र तथा निरस्त्र रहेका यी विभिन्न शक्तिहरु आ-आफ्नै प्रकारको राज्य व्यवस्था चाहिराखेका छन् । यसको अभिव्यक्ति कसैले शान्तिपूर्ण त कसैले हिँसात्मक तरिकाले दिइराखेका छन् । सत्ता सञ्चालकहरु आफैं सहमतिमा पुग्न नसकिरहेको अहिलेको अवस्थामा संबिधान सभा बाहिर रहेका, तर मौका परेका बेला दरो शक्ति प्रदर्शन गरिराखेका समूह तथा शक्तिहरुसंग 'सहमति' गरेर उनीहरुलाई कसरी राष्ट्रिय मूल प्रवाहमा ल्याउने हो ? प्रश्न अत्यन्तै गम्भीर तथा जटिल छ । 'प्रमुख' भनिने शक्तिहरु मात्र सहमत भएर बनाइएको संबिधान कति दिन टिक्ला तथा कसरी मुलुक सञ्चालन गर्न सकिएला भन्ने प्रश्न तर्फ सम्बन्धितहरुको ध्यान गए जस्तो देखिन्न । संबिधान निर्माणमा संलग्न रहेकाहरुबीचकै द्वन्द्व पनि सामान्य छैन । संबिधान जारी भएको दुइ वर्ष नपुग्दै छ पटक संशोधन गरियो हालको संबिधान । राष्ट्रको डाडूपन्यू हातमा लिएकाहरुबीच 'सिर्जित' असहमतिलाई मिलाउन वा सन्तुष्ट पार्न यसरी संबिधान संशोधन गरिएको कटू अनुभव हामीसँग छ । यो भन्दा गम्भीर पक्ष, एउटा व्यक्तिको अहम् तुष्टीकरणका लागि समेत संबिधानमा संशोधन गर्ने पहल शुरु गरिएको छ । छोटो अवधिमा सातौँ पटक संबिधान संशोधन गरेर 'लोकतान्त्रिक गणतन्त्र नेपाल' ले संसारलाई नै कीर्तिमानी बहादुरी देखाउँदैछ । |
||||||
|
||||||
विगत् सुखद् छैन : ६० वर्षको अवधिमा नेपाली नागरिकले सातौँ संबिधान पाउन लाग्दैछन् । वि. सं. २००७ बाट आरम्भ भएको नेपालको संबैधानिक विकासक्रममा हामीले छ वटा संबिधान बनाएर, अलि समय काम चलाउँदै, फाल्दै गरेका छौँ । २००७ सालको परिवर्तन पछि 'लागू भएको' पहिलो संबिधान मूलतः छोटो समयका लागि बनाइएको थियो । त्यसपछिको संसदीय प्रणाली अंगालेको २०१५ सालको संबिधान दुइ वर्ष पनि टिकेन । २०१९ सालको पञ्चायती संबिधान तुलनात्मक रुपमा निकै लामो समय चल्यो । विश्वकै उत्कृष्ट भनिएको नेपाल अधिराज्यको संबिधान, २०४७ एक पटक पनि संशोधन नभोगिकनै २०६३ सालमा समाप्त पारियो । २०६३ सालमा जारी, हाल कायम रहेको संबिधान प्रति लगभग हरेक पक्ष र क्षेत्रबाट व्यापक असन्तुष्टि तथा विरोध देखिएको छ । देशको मूल कानून मानिने संबिधान प्रति यति विघ्न विरोध हुनु र कसैले पनि मन-बचनर्-कर्मले यो संबिधानको पालना नगर्नु आफैंमा विडम्बना हो । र यो प्रवृति मुलुकको भविष्यका लागि शुभ संकेत होइन । 'नयाँ नेपाल' का लागि नयाँ संबिधान बनाउने क्रममा रहेकाहरुले विगत्को हाम्रो संबैधानिक अभ्यासको अनुभव प्रति त्यति ध्यान दिए जस्तो लाग्दैन । विगत्का संबिधानहरु राम्रा र उत्कृष्ट भए पनि ती संबिधान लामो समय किन टिकेनन् ? नेपालको राननीतिमा के त्यस्तो चरित्र वा विशेषता छ, जस्ले हामीलाई एउटा स्थिर तथा विकसित राजनीतिक प्रणालीमा जान र बस्न दिइराखेको छैन ? यी यस्ता प्रश्न हुन् जसको गम्भीर तथा बस्तुगत् विश्लेषण गरिएन भने हाम्रा लागि भावि दिन पनि सुखद् हुन सक्ने सम्भावना कम देखिन्छ । त्यसैले विगत्का तीतो अनुभवका कारक तत्व के-के हुन् र तिनबाट जोगिन के गर्नु पर्छ भन्ने विश्लेषण जरुरी छ, दिगो संबैधानिक व्यवस्था र शासन प्रणाली स्थापना गर्न । |
||||||
"आज पनि वेलायत संबिधान विहीन राष्ट्र हो । तर पनि यो देशलाई विश्वले 'प्रजातन्त्रकी जननी' र 'प्रजातन्त्रको उत्कृष्ट नमूना' स्वीकार गरेकै छ । संबिधान नामक किताब नहुँदा बर्वादै हुँदो हो त, वेलायत अराजक देश हुनु पर्ने ।" |
||||||
अरुबाट सिकौँ : सरदर १० वर्ष भन्दा कम समयमा एउटा संबिधान बनाउने, फाल्ने, अनि फेरि अर्को संबिधानको खोजीमा लाग्ने हामी नेपालीको प्रवृति अनौठो छ । स्थापित प्रजातान्त्रिक प्रणाली भएका सभ्य समाजले संबैधानिक व्यवस्थामा हामीले जस्तो गरेको उदाहरण संसारमा पाइन्न । यस्ता देशहरुमा एउटा संबिधान बनाएर लागू गरे पछि लामो समय सम्म चल्ने गरेको पाइन्छ । सन् १७८९ मा बनेर जारी भएको संयुक्त राज्य अमेरिकाको संबिधानलाई २२० वर्ष पछि आज पनि चुनौति दिइएको छैन । यति लामो समयको अन्तरालमा २६ पटक संशोधन गरिएको यो विश्वकै सबै भन्दा छोटो संबिधान हो । राज्य सञ्चालनका कतिपय आधारभूत पक्ष समेत संबिधानमा उल्लेख नगरिए पनि अमेरिकी नागरिक तथा नेताले त्यस संबिधानलाई उत्कृष्ट ठानेरै चलेका छन् । हाम्रै छिमेकमा हेर्दा पनि केही सिक्न सकिन्छ । भारत एउटा स्वतन्त्र देशका रुपमा स्थापित भए पछि जारी संबिधान आज झण्डै छ दशक सम्म पनि चलेको छ । अरुबाट राम्रा कुरा सिक्ने हो भने, वेलायती जनता सर्वोत्तम उदाहरण हुन् । आठ सय वर्ष अघि म्याग्नाकार्टाबाट आरम्भ भएको जनताको शासनको लडाइँ अघि बढ्दै विश्वभर शासन गर्न समेत सफल वेलायतीलाई 'संबिधान' भन्ने दस्तावेजको आवश्यकता कहिल्यै परेन । आज पनि वेलायत संबिधान विहीन राष्ट्र हो । तर पनि यो देशलाई विश्वले 'प्रजातन्त्रकी जननी' र 'प्रजातन्त्रको उत्कृष्ट नमूना' स्वीकार गरेकै छ । संबिधान नामक किताब नहुँदा बर्वादै हुँदो हो त, वेलायत अराजक देश हुनु पर्ने । तर त्यस्तो छैन । विश्वका स्थापित शासन प्रणाली भएका देशहरुबाट अलिकता पनि सिक्ने हो भने संबिधान भनेको सामान्य बाटो देखाउने दस्तावेज मात्र हो । यसैका शब्द र आशयमा विवाद गर्न थाल्ने हो भने संबिधान पनि चल्दैन, मुलुकमा स्थायित्व पनि आउँदैन । स्थायित्वका लागि राज्य सञ्चालकका साथै सरोकारवाला सबैको नियत सफा हुनु जरुरी हुन्छ । जुन समाज र त्यसका नेताले साँचो अर्थमा राष्ट्र तथा जनता प्रति इमान्दारी राखेर काम गर्छन् त्यहाँ प्राय समस्या आउँदैन । आइहाले पनि सजिलै समाधान हुन्छ । हामी कहाँ सरदर प्रत्येक १० वर्षा एउटा संबिधान लेख्ने, फाल्ने, फेरि अर्को बनाउने प्रवृति के कारणले कायम छ ? हाम्रा आफ्ना कमजोरी के कस्ता छन् ? बाहिरी तत्वले के कस्तो असर पारेका छन् ? यस्ता महत्वपूर्ण प्रश्नहरुको जवाफ खोजेर तिनको निराकरण गरी काम नगर्ने हो भने छ दशकमा सातौँ संबिधान बने पनि नेपाल राष्ट्र तथा नेपाली नागरिकले सुख, शान्ति, स्थिरता र विकास पाउन सक्ने छैनन् । |
||||||
deepakgajurel@gmail.com गजुरेल त्रिभूवन विश्वविद्यालयमा राजनीति शास्त्रका उपप्राध्यापक हुनुहुन्छ । |
||||||
|
||||||
|
||||||