अब चीनतर्फको इन्टरनेट व्यावसायिक सुरुवात -भारतत भन्दा ८० प्रतिशत तीव्र गति

काठमाडौं, पुस २९ गते । परीक्षण सफल भएको करिब दुई वर्षपछि नेपालले चीनबाट ल्याएको इन्टरनेटको व्यावसायिक सुरुवात गरेको छ । यससँगै भारतबाट मात्र इन्टरनेट ब्यान्डविथ ल्याउनुपर्ने बाध्यताबाट नेपाल मुक्त भएको छ ।
शुक्रवार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ‘नेपाल चीन क्रसबोर्डर अप्टिकल फाइबर लिङ्क’को व्यावसायिक सुरुवातको औपचारिक उद्घाटन गर्नु भयो ।
चीनसँग सिमा जोडिएको रसुवाको केरुङ्हुँदै चाइना टेलिकम्युनिकेसन कर्पोरेसनसँगको सम्झौता अनुसार टेलिकमले पहिलो पटक उत्तरी नाकाबाट पनि इन्टरनेट नेपाल भित्र्याएको हो । यसअघि टेलिकमले भारतको बीएसएनएल, एयरटेल र टाटासँग भैरहवा, वीरगञ्ज र विराटनगर नाका हुँदै इन्टरनेट ब्यान्डविथ आयात गर्दै आएको थियो । टेलिकम स्रोतका अनुसार भारतसँगको समान मूल्यमा चीनबाट खरिद गरिएको इन्टरनेट तुलनात्मक रुपमा बढी गतिसहितको हुनेछ ।

DSC_1174

हाल नेपालले सिङ्गापुरस्थित ट्रान्समिसन इक्विपमेन्ट सेन्टरबाट इन्टरनेट कन्टेन्ट प्राप्त गर्दै आएको छ । समुद्रमुनि बिच्छ्याइएको फाइबर भारतका विभिन्न सहरमा जोडिँदै त्यहाँका ‘क्यारियर’मार्फत नेपाल आइपुग्ने गर्छ । तर चीनतर्फ आउने इन्टरनेट हङ्कङ्स्थित ट्रान्समिसन केन्द्रबाट चाइना टेलिकम्युनिकेसन्सले स्थलमार्गबाटै केरुङ्सम्म ल्याइपु¥याएको छ । सिङ्गापुरभन्दा हङ्कङ्स्थित ट्रान्समिसन केन्द्रसँगको दूरी नजिक पर्ने भएकोले पनि चीनतर्फको इन्टरनेटको गति तुलनात्मक रुपमा छिटो हुने यसै परियोजमा संलग्न टेलिकमका प्रबन्धक सङ्गिता पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले भारत हुँदै प्राप्त इन्टरनेटबाट कन्टेन्टसम्म पहुँचको गति एक सय २८ मिलिसेकेण्ड रहेकोमा चीनतर्फको सोही गति ७३ सेकेन्ड मिलिसेकेन्डमा झर्नेछ । ‘यसबाट डेटा प्राप्तिको गति करिब ८० प्रतिशतले बढ्नेछ’ उहाँले भन्नुभयो ।

टेलिकमले हाल भारतबाट ल्याएको इन्टरनेटको कुल क्षमता २४ जीबी प्रति सेकेन्ड रहेको छ । चीनतर्फको इन्टरनेटको प्रारम्भिक गति १.५ जीबी प्रतिसेकेन्ड रहेको पहाडीले जानकारी दिनुभयो । टेलिकमले यस्तो क्षमता बढाउँदै लैजाने तयारी गरेको पनि उहाँले बताउनुभयो । क्षमता बढ्दै गएपछि मात्रै उपभोक्ताले पनि गतिको तीव्रता महसुस गर्न सक्ने उहाँले जानकारी दिनुभयो ।
यस्तै टेलिकमले केरूङ्सम्म हाल बिछ्याएको फाइबरको वैकल्पिक रुट पनि पहिचान गरेर हालको पूर्वाधारको विकल्प पनि तयार गर्ने योजना बनाएको छ । विसं २०७२ वैशाखको भूकम्पपछि काठमाडौं–तातोपानी सडक क्षतिग्रस्त भएपछि टेलिकमले त्यसको विकल्पका रुपमा काठमाडौं – रसुवागढी रुट हुँदै केरुङ्सम्म फाइबर बिच्छ्याउने तयारी थालेको थियो । सन् २०१६ को मेमा दुवैतर्फ अप्टिकल फाइबर जडानको परीक्षण सफल भएपनि त्यसयता विभिन्न प्राकृतिक अवरोधका कारण व्यावसायिक सुरुवात हुन नसकेको टेलिकमले जनाएको छ ।
‘दूरसञ्चार पूर्वाधारमा कोसेढुङ्गा’
सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले चीनसँगको अप्टिकल फाइबर सुरुवात नेपालको दूरसञ्चार पूर्वाधारको विकासमा ‘कोसेढुङ्गा’ भएको बताउनु भएको छ । उक्त फाइबरको उद्घाटन गर्दै उहाँले नेपालको अन्तरराष्ट्रिय व्यापार र वैदेशिक लगानीमा समेत महत्वपूर्ण हिस्सा ओगट्ने चीनसँगको इन्टरनेट सञ्जाल विस्तारले दुवै देशलाई थप अवसर सिर्जना गरेको बताउनु भयो ।
उहाँले काठमाडौं केरुङ् सडक सरकारको प्राथमिकतामा रहेकोले त्यसको निर्माण पनि इन्टरनेट कनेक्टिभिटीका लागि थप सहयोग पुग्ने बताउनुभयो ।
टेलिकम सञ्चालक समितिका अध्यक्षसमेत रहनु भएका सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले चीनसँगको इन्टरनेट सञ्जालले दुवै देशको समग्र वृद्धिदरमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालका लागि चीनका राजदूत यु होङ्ले फाइबर अप्टिकल मार्फत दूरसञ्चार क्षेत्र जडान मात्र नभई दुवै देशका लागि आर्थिक तथा व्यावसायिक अवसर सिर्जना भएको बताउनु भयो ।
टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले विगतदेखि नै पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको र चीनसँगको अप्टिकल विस्तारले दुवै छिमेकीसँग नेपालको अन्तरराष्ट्रिय आबद्धता सम्भव भएको बताउनु भयो । त्यस्तै उहाँले चीनतर्फबाट ल्याइएको इन्टरनेट गुणस्तर हुनुका साथै मूल्यका हिसाबले पनि सुलभ हुने जानकारी दिनुभयो । कार्यक्रममा चाइना टेलिकम्युनिकेसन्सका प्रतिनिधि वाङ् योङलिनले दुवै कम्पनीको बहुप्रतिक्षित परियोजना रहेकोले यसबाट दुवै देशका दूरसञ्चार उद्योगले फाइदा पनि लिन सक्ने बताउनु भयो ।

– गोरखापत्र बाट

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *