दिल्लीमा बन्यो एमाले फुटाउने प्लान, माओवादीमा पनि चिरा पार्ने रणनीति

काठमाण्डु, २६ पुस– गत असोजमा एमाले, माओवादी र केही साना दलले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी बाम गठबन्धन निर्माण गरेसँगै त्यसलाई तोड्न हरतरहको प्रयास गरेको दक्षिण छिमेकी भारतले अझै चलखेल जारी राखेको छ ।

निर्वाचनमा बाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि गठबन्धन टुटाउने उसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आगामी पाँच वर्षका लागि प्रधानमन्त्री प्रस्ताव गरेको थियो । भारतीय जनता पार्टी भाजपाका नेता राम माधव निर्वाचनलगत्तै नेपाल आए । उनले बाम गठबन्धन र काँग्रेस नेताहरुलाई भेटे । प्रचण्डलाई उनले काँग्रेस र मधेस केन्द्रित दलको समर्थनमा पाँच वर्ष प्रधानमन्त्री बन्न अफर गरे । तर, प्रचण्डले बाम गठबन्धन भत्काउने चाल भन्दै उनको प्रस्ताव अस्वीकार गरे । उनी दिल्ली फर्किएको केही दिनपछि काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार बोलाएर लेखेरै पाँच वर्षसम्म प्रधानमन्त्री दिन तयार रहेको बताए । देउवाको प्रस्तावसमेत प्रचण्डले अस्वीकार गरे । निर्वाचनका बेला माथिदेखि तलसम्ममै भावनात्मक सम्बन्ध विकास भइसकेका कारण त्यो सम्भव नभएपछि भारत अर्को प्रयासमा जुटेको छ ।

माओवादी र एमाले फुटाउने
भारतले माओवादी र एमालेभित्रका एकता प्रक्रियाप्रति असन्तुष्ट नेताहरुलाई प्रयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजिरहेको एमालेका एक नेताले काठमाण्डुटुडेलाई बताए । सरकार गठनको प्रक्रिया पछि धकेल्ने र त्यही बीचमा माओवादी वा एमाले फुटाउने डिजाइन भारतले बनाएको उनले दाबी गरे । भरसक एमाले र माओवादीलाई सरकार बनाउनै नदिने प्रयास पनि सँगसँगै अगाडि बढाउने कसरतमा भारत छ । त्यसका लागि संघीय समाजवादी फोरमको समर्थनमा एमालेको बहुमत जुटाउने र माओवादीलाई सरकारबाहिरै राख्ने रणनीतिमा भारत छ । यो विषय माओवादी अध्यक्ष प्रचण्डले यसअघि सार्वजनिक कार्यक्रममै बताइसकेका छन् । त्यो पनि सम्भव नभए एमाले र माओवादीलाई सरकारमा सँगै रहे पनि कुनै हालतमा एकता हुन नदिने रणनीतिमा भारत छ । आफूले रोक्दारोक्दै दुई कम्युनिष्टबीच एकता भइहाले प्रचण्ड र केपी ओलीविरुद्ध असन्तुष्टहरुको पार्टी र संसदीय दलमा ४० प्रतिशत पु-याएर पार्टी फुटाइदिने डिजाइनमा भारत लागेको छ । उच्च स्रोतका अनुसार दुवै दलका शीर्ष नेतासम्मलाई त्यो म्यासेज भारतले विभिन्न माध्यममार्फत दिइसकेको छ ।

तर, दुवै दलका जस्तोसुकै चुनौती आइपरे पनि पार्टी एकता गराएरै छाड्ने अठोटमा छन् । भारतले अनावश्यक दबाब दिएकै कारण पछिल्लो समय एकता प्रक्रियालाई तीव्रता दिइएको माओवादी केन्द्रका एक वरिष्ठ नेताले जानकारी दिए ।

काठमाण्डु टुडे बाट

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *