बाँच्ने अाशा गुमाइसकेकि सुत्केरीकाे हेलिकप्टरमार्फत् ३ दिनपछि यसरी गरियो उद्दार (फोटो सहित )

हप्तादिन अघि प्रसव पीडाले थलिएकी सन्तमाया अन्योलमा परेकी थिइन्। शिशु जन्मिने अवधी कुरिरहेकी उनी दिनानुदिन बिरामी पर्दै गएकी थिइन्। सुत्केरीको व्यथा लागेको तीन दिन भइसक्दापनि बच्चा नजन्मिएपछि सन्तमायालाई गाह्रो हुँदै गयो। गाउँको स्वास्थ्य चौकीले राजधानीको अस्पतालमा लैजान सल्लाह दिएपछि उनले कसरी कहाँ उपचार गर्न जाने सोच्न सकिनन्।

विपन्न परिवारकी सन्तमाया जन्म र मरणको दोसाधमा थिइन्। बेलाबेलामा बेहोस भइरहेकी तामाङको अवस्था देखेर आफन्तले भोटसिपामा लामो समय सामाजिक क्षेत्रमा काम गरेका उनै सिलवाललाई फोन गरेका थिए।

उनले विगत सम्झिँदै भनिन्,‘ बारम्बारको फोनपछि मंगलबार उहाँले केही गर्ने आश्वासन दिनुभयो, अनि बाँच्ने आस जागेर आयो।’ सवारीसाधनमा चढ्न नमिल्ने र चलमलाउन नै मूस्किल भएपछि राजधानीसम्म कसरी जाने सोच्न नसकेको उनले सुनाइन्।

आफैं समस्यामा परेका सिलवालले सुत्केरीको ज्यानको जोखिम भएको सूचना पाएपछि मंगलबार माउन्ट एयर हेलिकप्टरका दीपक पुनलाई फोन गरेका थिए। व्यथाले मूर्छा परेको थाहा भएपछि हेलिकप्टर नै बोलाएको दीपकले बताए। ‘दुईदिनभित्रै पैसा दिने शर्तमा हेलिकप्टर आउने तयारी भयो, ’ सिलवालले घटना स्मरण गर्दै भने,‘ सबै समस्या सुनेपछि पुनले सिम्रिक एयरको हेलिकप्टर उद्वारर्थ ल्याइदिए।’

माउन्ट एयर हेलिकप्टर लुक्लामा विशेष कार्यको लागि गएकाले सिम्रिक एयरको हेलिकप्टरमा सन्तमायालाई उद्दार गरेर राजधानी लगियो। काठमाडौंस्थित चण्डोलमा ‘घरआँगन नेपाल ’ संस्था चलाइरहेका सिलवालले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाभर विपन्न वर्गका बिरामीको उपचार गराएका थिए। ‘त्यसैबेला लिएको सिलवालको नम्बरले मलाई बचायो,’ सन्तमायाले हर्षित हुँदै भनिन्,‘ बाँच्छुजस्तो लागेकै थिएनँ।’

तामाङले तीन दिनपछि मात्रै हेलिकप्टरमार्फत् काठमाडौं जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारसहित शिशु जन्माइन्। लामो समय व्यथा लागेकाले शिशुलाई चिसो लागेकोले आइसियुमा राखिएको छ। समयमै ल्याइएकाले आमा र बच्चा दुवैको अवस्था सामान्य भएको त्यहाँका चिकित्सकले बताएका छन्।

लामो समयपछि उपचार पाएकी सन्तमायाको खुशीको सीमा छैन्। ‘मेरो पुकार सुनेर मेरो उपचार गराउने सबैलाई धन्यवाद छ,’उनले बेडबाटै भनिन्। स्त्री रोग विशेषज्ञ डा भोला रिजालको पहलमा अस्पतालमा ७५ प्रतिशत छुटमा उपचार पाएको उनले सुनाइन्।

अन्य केहि तस्विरहरूमा हेर्नुहाेस

 

 

 

अनिश तिवारी/कान्तिपुरबाट साभार गरिएकाे सामाग्री ।

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *