यसरी मिल्यो कुरा : ओली प्रधानमन्त्रीसहित सर्वोच्च नेता, प्रचण्ड पार्टी अध्यक्ष !

माओवादीलाई गलाएर सबै प्रमुख पद आफैं लिने रणनीतिमा रहेको एमाले अन्ततः पार्टी एकताका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवस्थापन गर्नुपर्ने निस्कर्षमा पुगेको छ ।

अध्यक्ष केपी शर्मा ओली प्रचण्डलाई पार्टी अध्यक्ष बनाउनेबारे पछिल्लो समय सकारात्मक देखिएका छन् । शनिबार वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित आफूनिकट नेताहरुलाई बालकोटस्थित निवासमा बोलाएर ओलीले नेतृत्व व्यवस्थापन गर्ने उपायबारे परामर्श गरेका थिए । छलफलमा विभिन्न चार विकल्पमा कुराकानी भएको एक नेताले बताए ।

स्रोतका अनुसार एकीकृत पार्टीमा ओली अध्यक्ष र प्रचण्ड सहअध्यक्ष, दुवै सह–अध्यक्ष वा दुवै नेता अध्यक्ष रहने गरी अधिकारको बाँडफाँट वा ओली प्रधानमन्त्रीसहित सर्वोच्च नेता र प्रचण्ड पार्टी अध्यक्ष रहने गरी नेतृत्व बाँडफाँटमा सहमति जुटाउन सकिने सैद्धान्तिक सहमति भएको छ ।

तर, ओलीको सह–अध्यक्ष प्रचण्ड बस्न तयार नभएको यसअघि नै माओवादीले स्पष्ट गरिसकेको छ । बाँकी तीनमध्ये ओली प्रधानमन्त्रीसहित सर्वोच्च नेता र प्रचण्ड अध्यक्ष बन्ने विषयमा सहमति हुने सम्भावना बढी छ । एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार सबै विकल्पका लागि एमाले तयार रहेको बताए । ‘यी सबै विकल्पमध्ये सर्वस्वीकार्य हुने विकल्पमा हामी जान्छौं’, उनले भने, ‘पार्टी एकता आजको आवश्यकता हो, यसबाट कोही पछि हट्न सक्दैन ।’

एमालेले पार्टी अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपति र सभामुखजस्ता प्रमुख पद आफैंले राखेर माओवादीलाई राष्ट्रिय सभाको अध्यक्ष र केही मन्त्री दिने तयारी गरेपछि माओवादी एकता प्रक्रियाप्रति शसंकित बन्दै आएको छ । एमालेको पछिल्लो छलफलमा उठेका विकल्पबारे सकारात्मक देखिएको माओवादीले त्यसबारे दुई दलीय कार्यदलमा आफ्नो धारणा राख्ने बताएको छ ।

यद्यपि नेतृत्व व्यवस्थापनसँगै आफ्नो नेतृत्वमा सञ्चालित १० वर्षे सशस्त्र जनयुद्ध तथा पार्टीको पथप्रदर्शक सिद्धान्तबारे कुरा मिल्नुपर्ने नेता देवेन्द्र पौडेल बताउँछन् । उनले आफूहरु माओवादलाई स्थगन गरेर पथप्रदर्शक सिद्धान्तबारे महाधिवेशनबाट टुंगो लगाउन तयार रहेकाले एमाले पनि जनताको बहुदलीय जनवाद छाड्न तयार हुनुपर्ने स्पष्ट गरे । काठमाण्डु टुडे बाट

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *