वाम गठबन्धनले जित्दा भारतीय मिडियामा छट्पटी– ‘चीन र पाकिस्तान पछि नेपाल बन्यो खतरा’

 

काठमाडौं । नेपालमा वाम गठबन्धनले अत्याधिक बहुमत ल्याएर सरकार गठन गर्ने तयारी गरिरहँदा भारतीय संचारमाध्यममा तरंग छाएको छ।
भारतको चर्चित पत्रिका नवभारत टाइम्सले नेपालको चुनावी परिणामलाई महत्व दिएर भारतमाथि नेपाल पनि खतरा बन्दै गएको समाचार लेखेको छ।
नवभारत लेख्छ–


गुजरात विधानसभा चुनावका बेला भारत सरकार पाकिस्तानकै चर्चामा व्यस्त रह्यो। तर, यो बीचमा नेपाल भारतकालागि नयाँ समस्या भएको छ।
विगत केही समयदेखि भारतलाई छिमेकी मुलुकबाट हुने चुनौतीका रुपमा नेपाल सामुन्नेमा आएको छ। नेपालमा कम्युनिष्ट पार्टीको सरकार बन्नु र प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित हुनु भारतकालागि खतराको घण्टी हो।

ओली खुलेरै चीनप्रति झुकाव राख्ने नेता हुन्। ओली वाम गठबन्धनको सरकारमा वरिष्ठ सहयोगीकासाथ चाँडै प्रधानमन्त्रीको शपथ लिँदैछन्। गत वर्ष ओलीले सरकार छोड्नु पर्दा त्यसको दोष भारतमाथि लगाएका थिए। माओवादीले आफ्नो समर्थन फिर्ता लिएपछि ओली सरकार ढलेको थियो र त्यतिबेला ओलीले नेपालमा राजनीतिक अस्थिरताकालागि भारत जिम्मेवार भएको अभिव्यक्ति दिएका थिए।

नवभारत अगाडि लेख्छ– ओलीले नेपालमा रिमोट कन्ट्रोलबाट संचालन हुने सरकार बनाउन भारतले चाहना राखेको अभिव्यक्ति दिएका थिए। नेपालमा २०१५ बाट नयाँ संविधान लागू भएको छ र संविधान अनुसार निष्पक्ष चुनाव र सत्ता हस्तान्तरको व्यवस्था गर्न संयुक्त राष्ट्रसंघले सुझाव दिएको छ। नेपालमा चुनावभन्दा अगाडि चीनले सो आशयको आफ्नो सक्रियता पनि देखाएको थियो।

नवभारतले जानकारहरुको अभिव्यक्ति उदृत गर्दै लेखेको छ–
विदेश मामिलाका जानकार ब्रह्म चेलानी भन्छन्, ‘नेपालमा दुई कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड एकैसाथ आएका छन्। अब नेपालको कम्युनिष्ट सरकारको झुकाव निःसन्देह चीनतर्फ नै हुन्छ।’ चेलानी अगाडि भन्छन्, ‘ओलीले पहिला पनि नेपालको राजनीतिक अस्थिरताकालागि भारतलाई दोष दिइसकेका छन्।’ उनका अनुसार नेपालको तराई इलाकामा बसोबास गरिरहेका प्रवासी मधेसीको व्यवहार पनि भारतको हित विरोधी देखिएको छ।

नेपालमा कम्युनिष्टहरुको पडक हुनु कुनै पनि प्रकारबाट भारतकालागि राम्रो खबर होइन। पूर्व विदेश सचिव कंवल सिब्बल भन्छन्, ‘नेपालमा कम्युनिष्ट पार्टीको सरकार बनाउन चीनले पर्दा पछाडिबाट खेलेको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन।

नवभारतमा सिब्बलको कोट छ– ‘यतिबेला भारतले के आशा गर्न सक्छ भने चीनको प्रभावमा नआइकन ओली परिपक्व तरिकाबाट भारतसँगको सम्वन्ध निर्वाह गर्छन् र भारतकालागि कुनै पनि समस्याको कारण बन्दैनन्।’

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *